इज्जत जाने डरले बुवाले दिएका थिए अमृतालाई गोली हान्न साढे २ लाख

सेतोपाटी

काठमाडाैं

रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्। 

उनको हत्या भएको झन्डै तीन सातापछि जिल्ला प्रहरी कार्यालय रौतहटले हत्यामा संलग्न ७ जनालाई आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। हत्याका मुख्य अभियुक्त आइतबारमात्रै पक्राउ परेका हुन्।  

माधवनारायण नगरपालिका-७ लौकाहाकी अमृताको कात्तिक २६ गते हत्या भएको थियो। राति साढे ११ बजेतिर सुतिरहेका बेला उनको कन्चटमा गोली हानिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।  

प्रहरीको अनुसन्धानले  अमृताका बुवाआमाले नै छोरीमाथि गोली हान्न लगाएको खुलेको छ।  अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह र आमा सीतादेवी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार अमृताको आमाबुवाले इज्जत जाने डरले नै छोरीको हत्या गर्न लगाएको बयान दिएका छन्।  

अमृता सोही ठाँउका ३० वर्षीय थारू भन्ने सोशिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। 

परिवारको दबाबमा गत फागुनमा अमृताको विवाह सर्लाही विष्णु गाउँपालिका-३का रुपेश साहसँग भयो। 

विवाहपछि सोशिन्द्रप्रसादले रुपेशमाथि छुरा प्रहार गरेका थिए। श्रीमानलाई छुरा हानिएको घटनापछि अमृता माइती आएकी थिइन्।  

प्रकाशित मिति: : 2020-11-29 23:58:00

प्रतिकृया दिनुहोस्