भारतलाई दोस्रो एकदिवसीयमा पनि धक्का, ५१ रनले पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

अस्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा पनि भारतलाई ५१ रनले पराजित गरेको छ। पहिलो खेलमा कंगारुसँग ६६ रनले पराजित भएको भारत दोस्रोमा ५१ रनले पराजय भएको छ। 

दोस्रो खेलको हारसँगै भारत तीन एकदिवसीय शृंखलामा २–० ले पछाडि परेको छ। तेस्रो खेल क्यानबरामा २ डिसेम्बरमा हुनेछ। 

यो पराजयसँगै भारतले एकदिवसीय शृंखला पनि गुमाएको हो। विदेशी भूमिमा भारतको यो लगातार दोस्रो एकदिवसीय शृंखलामा पराजय हो। यसअघि न्युजिल्याण्डमा पनि भारत ३–० ले पराजित भएको थियो। 

३९० रनको लक्ष्य पाएको भारतका लागि कप्तान विराट कोहली (८९) र लोकेश राहुल (७६) ले उत्कृष्ट इनिङ खेलेपनि भारतले ९ विकेटको क्षतिमा ३ सय ३८ रन मात्र बनाउन सक्यो। 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कंगारुले ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थियो। 

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान मयंक अग्रवाल (२८) र शिखर धवन (३०) ले ५८ रनको साझेदारी गरेका थिए। यसअघि कप्तान कोहली र श्रेयस अय्यरले तेस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। अय्यर ३८ रनमा आउट भए। 

कोहलीले चौथो विकेटका लागि लोकेश राहुलसँग मिलेर थप ७२ रनको साझेदारी गरेका थिए। कोहली आउट भएपछि राहुलले हार्दिक पाण्ड्यासँग मिलेर पाँचौ विकेटका लागि ६३ रनको साझेदारी गरे तर त्यो जितका लागि पर्याप्त भएन। 

अस्ट्रेलियाका लागि पेट कमिन्सले सर्वाधिक ३ विकेट लिए। जस हेजलउड र एडम जम्पाको नाममा पनि २–२ विकेट रहयो। मोइसेस हेनरिक्स र ग्लेन म्याक्सवेलले पनि १–१ विकेट लिए। 

कमिन्सको दोस्रो खेलमा पनि तेस्रो विकेट हो। भारतका लागि हार्दिकले २८ र रविन्द्र जडेजाले २४ रन बनाएका थिए। 

यसअघि भारतविरूद्ध अहिलेसम्मकै उच्च योगफल बनाएको कंगारु टिमका लागि स्टिभ स्मिथले ६४ बलमा १ सय ४ रन बनाए। उनको एकदिवसीयमा ११ औं सतक हो। उनी बाहेक डेभिड वार्नरले ८३ र एरोन फिन्चले ६० रन बनाए। 

वार्नर र फिन्चले पहिलो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए। मार्नस लाबुसानेले ७० र ग्लेन म्याक्सवेलले पनि ६३ रन बनाए। स्मिथ र लाबुसानेको जोडीले पनि तेस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरेको थियो। 

अस्ट्रेलियाले भारतविरूद्ध पहिलो एकदिवसीयमा ३ सय ७४ को उत्कृष्ट योगफल बनाएको थियो।

प्रकाशित मिति: : 2020-11-29 18:44:00

प्रतिकृया दिनुहोस्