काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल रुखो बोल्ने नेतामा पर्दैनन् । विगत केलाउँदा, पृष्ठभूमि हेर्दा न पार्टीभित्रको किचलोलाई ‘आङ कन्याएर छारो उडाउने’ शैलीमा छारस्ट पार्ने नै नेता हुन् ।
आठौं महाधिवेशनले अध्यक्षमा निर्वाचित गरे पनि खनाल केन्द्रीय कमिटीमा चरम अल्पमतमा थिए । माधव नेपाल र केपी शर्मा ओलीको गठजोड हुँदा पार्टी नेतृत्वमा भए पनि किनारमा धकेलिनु बाध्यता नै थियो । केपी ओलीको भाषाशैलीलाई पछ्याउने हो भने त्यतिबेला पनि खनाललाई घेराबन्दीमा पारिएको थियो । हातखुट्टा बाँधिएको थियो ।
तिनताका केन्द्रीय कमिटीको बैठक झण्डै दुई महिनासम्म चलेका उदाहरण छन् । माओवादी परस्त भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गर्दा पनि धैर्यपूर्वक सुन्थे । र, अन्तिममा क्रान्तिका बाँकी कार्यभार सुनाएर बैठक मैझारो गरिदिन्थे । सहकर्मीकै शैलीमा जवाफ दिन अनुचित ठान्थे ।
अहिले खनालजस्ता ‘सालीन’ नेता पनि निकै आक्रामक देखिन्छन् । ओलीप्रति उनको आक्रोश चुलिँदो छ । शनिबारको सचिवालय बैठकपछि खनालले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दुवै जवाफ पार्टीको सम्पत्ति भएको भन्दै फिर्ताको बहस औचित्यहीन भएको बताए ।
“दुवै अध्यक्षले प्रस्तुत गरेका जवाफ पार्टीका सम्पत्ति हुन् । सम्पत्ति सुन–चाँदीमात्र हुँदैन । कुनै खिया लागेका पत्रु, फलामका टुक्राटाक्री पनि हुन्छन् । यसलाई फिर्ताको होइन, बहस छलफलको विषय बनाउनुपर्छ,” खनाल बाह्रखरीसँगको कुराकानीमा भन्छन् ।
गत कात्तिक २८ गतेदेखि सुरु भएको सचिवालय बैठकमा प्रस्तुत दुवै अध्यक्षका जवाफ हेर्दा कम्युनिस्ट आन्दोलनले शिर झुकाउनुपर्ने अवस्था छ । नेता कार्यकर्ता कस्तो पार्टीमा लागेर समय बर्बाद गरिएछ भनेर लज्जित हुनुपर्ने अवस्था छ ।