ओलीको बटमलाइन : म 'नेकपा', अरू सबै 'अन्तरिम' व्यबस्था 

‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ। विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याउँ। बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ।’ 
 
नेकपाका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीले आफ्नो ३८ बुँदे जवाफीपत्रको सार यही बताएछन्। पार्टीको हार्डकोर टीम भनिने सचिवालयको बैठकमा उनले सुनाएको निष्कर्ष यही भनिएको छ। आशय यही भए पनि यति प्रष्टसँग उनले जवाफीपत्रमा भने उल्लेख गरेका छैनन्। 
 
ओलीको बटमलाइन देखेपछि उनलाई हेर्ने ऐनामा अब कुनै धुलो राख्नुपर्ने अवस्था छैन। उनले सिधै भनिदिए, म अल्पमत बहुमत मान्दिन। पार्टीमा सहमत नभएको त जगजाहेर भैसक्यो, यस्तो अवस्थामा निर्णय गर्ने बाँकि लोकतान्त्रिक पद्दति भनेकै बहुमतको निर्णय हो, त्यो पनि मान्दिन भनेपछि बाँकि नै के रह्यो र?
 
अझ उनले त्योभन्दा पनि खतरा कुरा भनेका छन्, विधिबाट पार्टी चलाउने हो भने महाधिवेशनमा पुर्याउँ। यसको अर्थ के हो? सिधै छ, महाधिवेशन नभएसम्म नेकपा विधि र पद्धतिअनुसार चल्दैन। यसको अर्थ प्रष्ट छ, नेकपा ओलीको चाहनाअनुसार चल्छ। 
अझ अगाडि बढेर उनले भनेका छन्, बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ मा फर्किउँ। त्यो भनेको दुई पार्टीको एकताअघिको अवस्थामा फर्किउ भनेको हो। अब त्यस्तो पनि होला? अब त्यो विन्दुमा फर्किन सम्भव होला? जब कुनै कुरा असम्भव छ, त्यस्तो कुरा गरेर पनि केही होला। 
 
ओलीले अर्को पनि गजबको कुरा भनेका छन्, उनले पार्टीका सबै कमिटीलाई अन्तरिम भनेका छन् र तिनीहरूले कुनै निर्णय गर्न नसक्ने भनेका छन्। योभन्दा सिल्ली कुरा के हुन्छ? त्यही अन्तरिम केन्द्रीय कमिटिले छानेको एक अध्यक्ष ओली चाँहि सर्वेसवा हुने र उसले जे पनि गर्न पाउँने तर त्यही कमिटीले चाँहि अरू केही गर्न नपाउने यस्तो पनि हुन्छ?
 
एकछिन अर्को कोणबाट हेरौ, ओलीले ससचिवालयमा बहुमत गराउन के गरे? भन्दा के गरेनन् ? जगजाहेरै छ। तर, त्यति गर्दा पनि यसपटक नसकेका हुन्। यदि सकेका भए र उनको बहुमत भएको भए के हुन्थ्यो ? सिधा छ, उनले प्रचण्डलाई बहुमतको डण्डा लगाएर निस्कासन गरिसकेका हुन्थे। अनेक प्रलोभन दिदा पनि यसपटक बामदेव उनको टाट्नाको घाँस खान तयार नभएपछि उनले बहुमत अल्पमत गर्न नपाइने कुरा गरेर जग हसाएका हुन्। 
 
ओलीले अरू केही समय यस्तै सिल्ली कुरा गरेर जग हसाउँने छन्। तर, जति जति यस्ता कुरामा उनी मजाक गर्दै जान्छन्, त्यति त्यति नै उनका लागि त्यो मजाक महंगो पर्दैजाने छ। उनको यो गतिविधिले आफू त सकिने नै छन्, प्रकारान्तरमा नेकपा भन्ने पार्टी पनि एक दन्त्यकथाका रूपमा विस्मृतिमा जानेछ।
 
प्रचण्डको १९ बुँदे अभियोगपत्र होस् वा ओलीको ३८ बुँदे जवाफीपत्र, आम नेपाली यी आरोप प्रत्यारोपका बारेमा राम्रै जानकारी राख्छन्। यसपटक एकले अर्कालाई नङ्ग्याउने क्रममा दुबै औपचारिक रूपमा नाङ्गा भएका मात्र हुन्। 
 
त्यसैले ती पत्रहरूमा उठाइएका कुरा आम नेपालीका लागि खासै नयाँ र रूचिकर छैनन्। नेकपाको हार्डकोर टिम भनिने सचचिवालय बैठकै प्रस्तुत गरिएकाले तिनीहरू एक किसिमका दस्तावेज भएका छन्। नेपालको कम्युनिष्ट इतिहासमा एउटै पार्टीका दुई अध्यक्षले एकले अर्कालाई आरोपित गरेको सन्दर्भ सामग्रीका रूपमा तिनीहरूको अर्थ हुनेछ। र, दुबैका लागि कहिलै नजाने दागका रूपमा रहिरहनेछ। उनीहरूको पार्टी नेकपालाई दागी अध्यक्षले भिराएको घाँडोका रूपमा तिनीहरू रहिरहने छन्। 
‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ। विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याउँ। बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ।’ नेकपा अध्यक्ष ओलीको ३८ बुँदे जवाफीपत्रको सार नै यही हो।
 
समग्र, नेपालको राजनीतिक परिदृश्यमा भने यो लज्जाको विषय हो । तर, राजनीतिक मूल्य, मान्यता, सिद्धान्त सबै स्खलित गराइसकिएको  निमुखो समाजमा त्यसको पनि खासै अर्थ हुदैन। सबै नेता उस्तै हुन्, सबै पार्टी उस्तै हुन् भनेर सामान्यीकरण भैसकेको अवस्थामा यस्ता प्रकरण पनि अन्तत: सामान्यीकरण नै भएर जाने रहेछन्।
 
नेकपामा दुबै अध्यक्षका यति तल्लोस्तरमा आरोप प्रत्यारोपपत्र प्रस्तुत भएपछि अब के हुन्छ ? प्रश्न त फेरि पनि बाँकि नै छ। लाज भएका सामान्य मानिस भए यति तलसम्म गिरेर गाँड कोराकोर गरेपछि एक ठाउँमा बस्न सक्दैनन्। तर, नेपालका नेताहरू लाज नभएका लबस्तरा भैसकेकाले यति गरेपछि पनि छुट्टी हाल्लान् भन्न सकिन्न। किनकि, दुबैलाई थाहा छ, छुट्टिएपछि चुनाव जित्न सकिदैन। चुनाव नजितेपछि सत्तामा पुग्न पाइदैन; देश र जनतालाई दोहन गर्न पाइदैन। त्यही अभिष्टका लागि उनीहरू फेरि पनि देशको आवश्यकता र जनताको चाहना भन्दै कुनै न कुनै फेस सेभिङ उपायमा पुग्नेछन्।  
 
अहिले पनि आम नेपालीलाई लागेको यही हो। तर,यसपटक एक-अर्काको गाँड कोर्न बाँकि नै नभएको स्थिति पुगेकाले यो 'गलगाँड' फुट्छ कि? असम्भव चाँहि छैन। हुन त यतिबेला पनि केहीलाई लागेको होला, यो फुट्दा आकाश नै खस्छ, त्यस्तो केही हुदैन। नफुटोस् कामना गरौं। तर, फुटिहाल्यो भने पनि त्यसले अर्को निकास निकाल्छ। शायद उनीहरूको दुर्वुद्धिको परिणाम देशले सही निकास पो पाउला कि ? सेकेण्ड ओपनियन नै सही, त्यो कोणबाट हेर्दा पनि त हुन्छ नि, कि कसो?
प्रकाशित मिति: : 2020-11-29 06:34:00

प्रतिकृया दिनुहोस्