मोबाइल र सिक्री बन्धकी राखेर पनि शव जलाएको छुः सपना (अन्तर्वार्ता, भिडियो)

तेजन खड्का

काठमाडाै‌ं

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ। 

सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो। 

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ। 

हालसम्म उनले सयभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। उनी शवलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन्। 

कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्। उनीसँग बीएल नेपाली सेवाका लागि तेजन खड्काले गरेको छोटो कुराकानी। 

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पर्नुभयो, कस्तो अनुभव भइरहेको छ? 

एकदमै खुसी लागेको छ। मैले सोचेको पनि थिईन्। विश्वका सय महिलामध्ये म पनि पर्न सफल भएछु। एकदमै उत्साहित छु। यो सम्पूर्ण टिमको सफलता हो। हामीले विगतदेखि गर्दै आएको कामको मूल्याङ्कन गरेर यो स्तरसम्म पुर्‍याउन सहयोग गरेको छ, बीबीसीले। यसका लागि धन्यवाद दिन चाहन्छु।

कसरी छनोटमा परे जस्तो लाग्छ?

केही समय अगाडी बीबीसीमा कार्यरत कमल परियार र रमा पराजुलीले ‘बहिनी तिम्रो काम राम्रो छ’ भन्दै मेरो काम बारे रिपोर्ट बनाउनुभएको थियो। अनि सम्पूर्ण मिडियाकर्मी दाईदिदीहरूले मेरो समाचार बनाउनुभएको थियो। 

कुन माध्यमबाट आफू छनोट भएको जानकारी प्राप्त गर्नुभयो? 

यो खबर औपचारिक रूपमा मैले बिहान १० बजेतिर थाहा पाए। सञ्चारकर्मी सोनु लिम्बु र अनुप दाईले फोन गरेर बधाई छ बहिनी भन्नुभयो। मैले के को बधाई दाई भनेर सोधे। दाईहरूले बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेको कुरा अवगत गराउनुभयो। फेसबु्क खोले। अनि बल्ल थाहा भयो। 

यो खुशीलाई कसरी सेयर गर्नुहुन्छ ?

मलाई जतिले सपना भनेर चिन्नुहुन्छ, सबैलाई धन्यवाद दिन चाहान्छु। मेरो आफ्नो कारणले मात्र होइन, मलाई हौसला दिनुहुने सम्पूर्ण मिडियाकर्मीले देखाउनु भएकोले हो। खासमा राज्यले बेवारिसे शवको व्यवस्थापन गर्नुपर्ने हो। तर, हामीले आफ्नो बलबुताले सकेसम्म गर्यौं। राज्यले सहयोग नगरिरहेको अवस्थामा हाम्रो कामको मुल्याङ्कन गर्दै मलाई पनि प्रभावशाली महिलाको सूचीमा छनौट गरियो। एकदमै खुसी लागेको छ। सम्मानसँगै सामाजिक उत्तरदायित्व बढेको महसुस गरेको छु। 

कत्तिको बधाईको ओइरो लागेको छ? 

एकदमै बधाई आइरहेको छ। फोन रिसिभ गर्न, म्यासेजको रिप्लाई दिन भ्याइरहेको छैन। एकदमै ब्यस्त बनाएको छ। सबैलाई एकमुस्ट धन्यवाद दिन चाहन्छु।  

समाजसेवामा आउने प्रेरणा कसरी मिल्यो ?

छोटो समय भएपनि सडकमा जीवन बिताएको मान्छे भएको हुनाले सडक जीवनको पिडा थाहा छ। सडक जीवनका दुःखले मानिसको भोगाइले मलाई समाजसेवामा आउने प्रेरणा मिल्यो। काठमाडौंमा विनयजंग बस्नेतसँग भेट भयो। म उहाँलाई बुवा मान्छु। उहाँ वेवारिसे शवहरू दाहसंस्कार गर्नुहुन्छ। म उहाँबाट समाजसेवामा आउन प्रेरित भए। 

काम गर्दा कत्तिको समस्याहरु भोग्नु पर्‍यो? 

समस्या धेरै छन्, १८ सय रुपैयाँ शुल्क दाखिला गरेपछि शव जलाउन मात्र १०–१२ हजार खर्च लाग्छ। मैले आफैले लगाएको सुनको सिक्रीदेखि मोबाइलसम्म बन्धकी राखेर पनि बेवारिसे शव जलाउन खर्च जुटाएको छु। हालसम्म मैले सयभन्दा बढी लाशको दाहसंस्कार गरेको छु। 

अबको योजना के छन्? 

मेरो आगामी योजना अध्ययनसँगै समाजसेवालाई निरन्तरता दिनेछु। समाजका लागि केही राम्रो काम गरूभन्ने लाग्छ। 

अध्ययन कहाँ पुग्यो? 

‘प्लस टु’ सके। अब ब्याचलर ज्वाइन गर्दैछु। 

समाजसेवा गर्दै मान्छे राजनीतिमा आउँछन्, तपाईको सोच के छ नि? 

राजनीति आफैमा गलत होइन। राजनीतिमा हुनेले फोहोरी खेल खेलेका छन्। राजनीति बारे खासै मलाई थाहा छैन। समाजसेवालाई नै निरन्तरता दिने हो। राजनीति बारे सोचेको छैन र यसमा आउँदिन पनि। 

प्रकाशित मिति: : 2020-11-25 12:58:00

प्रतिकृया दिनुहोस्