फूलमान तामाङ-
नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ४ का मन्दे तामाङ वर्षले ८३ मा टेके। उमेर पाके पनि उनी एक क्षण हात खाली बस्दैनन्।
तामाङ कि त चोया काट्दै गरेको भेटिन्छन् कि त डोको कस्दै। छोराछोरीले खेती सम्हालेपछि आफू दैनिक डोको बुन्ने काममा लागेको उनी बताउँछन्।
'पहिले पनि बुन्थे। तर ६० वर्ष पुगेपछि दैनिक बुन्न थालेको हुँ,' मन्दे भन्छन्, 'खेती गर्न अलि गाह्रो हुने भो।'
आफ्नै खेतबारीमा लगाएको निँगालो उपयोग गर्न यो काममा लागेको उनी बताउँछन्। भन्छन्, 'आफ्नो बारीको बाँस निँगालो किन खेर फाल्ने? घरमै आम्दानी हुन्छ भने किन बाहिर जाने भनेर बुन्न थाले।'
घरमै बसेर डोको बुन्ने प्रेरणा भने रोजगारीका लागि विभिन्न ठाउँ धाउँदा पाएको दु:ख सम्झन्छन् उनी। '२३ वर्षको हुँदा भारत पुगें। लेबर भएर त्यतै बसे। त्यो बेला ६० रुपैयाँ तलब। आफू र बुढीलाई खानै नपुग्ने। भारतमा २ पटक छिरेर केही सीप नलागेपछि नेपाल फर्कें,' मन्दे भन्छन्।
केही समय अघिसम्म उनी भकारी, गोठ छाउने चित्र, नाङ्लोसमेत बुन्थे। अहिले गोठ राख्ने चलन बिस्तारै हराउँदै गएकोले चित्र बुन्न छाडिएको छ। भकारी र नाङ्लोमा मेहेनत बढी पर्ने भएकोले बुन्न नसक्ने अवस्थामा पुगेको उनी बताउँछन्। भन्छन्, 'अहिले पहिलेजस्तो बल छैन। पहिले त दिनमै दुईवटा डोको बुन्थे, अहिले त एउटा डोको बुन्न दुई दिन लाग्छ।'
उनले बुनेका डोकोका लागि बजार खोजिरहनुपर्दैन। घरमै किन्नेहरु आइपुग्छन्। डोकोको साइज हेरेर मुल्य तोक्छन् उनी। अहिलेसम्म एक वटा डोकोको पाँच सय रुपैयाँसम्म लिने गरेको तामाङले बताए।
'कुनै सानो कुनै ठुलो हुन्छ। त्यो हेरेर ३०० देखि ५०० रुपैयाँ लिन्छु,' उनले भने।
डोको बुनेर वर्षमा दुई लाख रुपैयाँ बराबरको आम्दानी हुने उनी बताउँछन्। 'पहिले त तीन लाख जति कमाइन्थ्यो नि। अहिले त्यति खट्न सक्दिनँ। वर्षमा दुई लाख जति हुन्छ कि,' उनले भने।
डोको बुन्न निँगालो र बाँस चाहिन्छ। यी सामग्री पहिले उनी आफै ल्याउँथे। अहिले भने आफू लामो बाटोमा भारी बोकेर हिँड्न नसक्ने भएका छन्। भन्छन्, 'अहिले छोरा, नातिहरुले ल्याइदिन्छन्।'