मधु राई
केही वर्षअघि बिहानीपख एक जना छिमेकी बहिनी कक्षा तीन पढ्ने आफ्नो छोरालाई हतारहतार खाना खुवाउँदै थिइन्। यो दृश्यले मलाई अचम्मित बनायो। उनका छोरा आफैँ खाना खानसक्ने उमेरका थिए। “आफैं शिक्षक भएर अहिलेसम्म छोरालाई खाना खुवाउनुहुन्छ बहिनी?”, मैले भनेँ। प्रत्युत्तरमा उनले भनिन्, “हो नि दिदी! आफैं त ढिलो गर्छ। त्यसैले खुवाइदिनुपर्छ।”
विद्यार्थीलाई पाठ्यपुस्तकका विषयबाहेक पनि जीवनोपयोगी सीप सिकाउनुपर्ने अभिभारा शिक्षकको हो। तर, विद्यालय जाने उमेरका आफ्नै छोराछोरीलाई खाना खाने सीपसमेत सिकाउन सकिरहेका छैनन्। कामकाजी मात्र हैन गृहिणी आमाहरुसमेत आफ्ना विद्यालय जाने उमेरका छोराछोरीले ‘ढिलोगरी खाने’ र ‘पोखाउने’ भन्दै आफैँ खुवाइदिन्छन्।
यस्तो बानीले विशेष गरी हुनेखाने घरका बालबालिका कालान्तरमा आफूले गर्न सक्ने काम पनि अरुमा भरपर्दै जान्छन्। अभिभावकहरुले साना तर, महत्वपूर्ण जीवनोपयोगी सीप ‘ठूलो भएपछि आफैं सिक्छन्’ भनेर वास्तासमेत गर्दैनन्। यसैको परिणाम किशोरावस्था पुग्दासमेत उमेर अनुसार जान्नुपर्ने सीप जानेकै हुँदैनन्।
कोरोना महामारीका कारण बन्दाबन्दी शुरु भएयता धेरै व्यक्तिको समय अनुत्पादक काममा बितिरहेको छ। साना–ठूला सबैको जीवनशैली र दैनिकी फेरिएको छ। कतिपय हुनेखाने घरका छोराछोरी घरबाहिर निस्कँदैनन्। उनीहरुको धेरैजसो समय टेलिभिजन हेरेर र मोबाइलमा गेम खेलेर बित्छ। अझ कतिपय परिवारमा घरायसी कामका लागि सहयोगी राखिएको हुन्छ। यसले गर्दा बालबालिकालाई ‘घरको काम हामीले गर्ने होइन’ भन्ने बुझाइ हुन्छ। उनीहरु झनै परपर्निभर हुँदै जान्छन्।
यद्यपि हुँदाखाने घरका छोराछोरीले आफ्ना अभिभावकलाई उमेरअनुसारको घरायसीलगायत काममा सघाउने गर्छन्। त्यस्ता परिवारमा छोराको तुलनामा छोरीले नै बढी घरायसी कामकाज गर्छन्। जीवनोपयोगी सीप पनि बढी उनीहरुले नै जानेका हुन्छन्।
वास्तवमा जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर नै हो, र अभिभावक गुरु। जीवनोपयोगी सीपको शुरुआत घरायसी कामकाजबाट हुन्छ। यसप्रति चासो जगाउन अभिभावकहरुले सहजीकरण गर्न जरुरी हुन्छ। ‘हाम्रा बालबालिका भोलिका जनशक्ति हुन्’ भन्ने आधारभूत बुझाइ अभिभावकमा हुनैपर्छ। तर, बालबालिकालाई उनीहरुका साना काम पनि गर्न नदिने जस्तै बुझाइ शिक्षकहरुमा पनि भएकाले विद्यालयमा पनि जीवनोपयोगी सीप सिक्नबाट बञ्चि छन्।