अमेरिकी अस्पतालमा बेड पाउन गाह्रो, २२ दिनमा ३० लाख संक्रमित थपिए

बिएल संवाददाता

न्युयाेर्क

नोभेम्बरको महिना सकिन अझैं केही दिन बाँकी छ। तर, यो महिना अमेरिकामा जति कोरोना संक्रमित कोरोनाकालमा भेटिएन। 

जोन हप्किन्स विश्वविधालयका अनुसार नोभेम्बर १ देखि २२ सम्म अमेरिकामा ३० लाख संक्रमित फेला परेका छन्। यो तथ्यांक अमेरिकामा कोरोना संक्रमितको संख्याको एक चौथाई हो। 

अर्थात जति यसअघि कोरोना संक्रमित अमेरिकामा फेला परे, पछिल्लो २२ दिनमा त्यसको एक चौथाईं अमेरिकी कोरोना संक्रमित भए। 

यस अवधिमा सरकारले परीक्षणको दायरा नबढाएको होइन। तर, नयाँ संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न भने सरकार असफल भएकै हो। 

गत साताको तुलनामा यतिबेला संक्रमितको संख्यामा २५ प्रतिशतले बृद्धि भइरहेको छ।

यस कारण सरकारलाई परीक्षणको दायरा बढाउन धौंधौं परिरहेको छ। हाल सरकार कोभिड–१९ परीक्षणको दर १४ दशमलव ५५ प्रतिशतले मात्र बढाउन सफल भएको छ। 

सरकारले ४४ राज्यमा कोभिड परीक्षणका लागि राखेको ५ प्रतिशत थ्रेसहोल्डभन्दा पनि बढी परीक्षण गर्नुपर्ने अवस्था छ। 

जोन हप्किन्स विश्वविधालयले बढ्दो संक्रमितको संख्या हेरेर उच्च जोखिममा भएका व्यक्तिलाई मात्र परीक्षण गर्नुपर्ने अवस्था बन्न थालेको बताएको छ। 

यसले अस्पतालमा संक्रमितको संख्या बढाएको र मर्नेको संख्या केही साताभित्र अझै बढ्न सक्ने इंकित गरेको छ। 

कोरोना संक्रमित पत्ता लगाउन बनाइएको ‘कोभिड ट्रयाकिङ प्रोजेक्ट’ का अनुसार शनिबार मात्र ८३ हजार २ सय २७ संक्रमित अस्पताल भर्ना भएका छन्। यो दर यसरी नै बढ्दै जाने हो भने अमेरिकी स्वास्थ्य सुविधा ठप्प हुने बताइएको छ। 

कोरोनाका कारण अमेरिकामा हाल २ लाख ५६ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ, जुन प्रत्येक वर्ष सडक दुर्घटनामा मर्ने अमेरिकीको संख्याभन्दा १० गुणाले बढि हो। 

अमेरिकामा हालसम्म १ करोड २२ लाखको हाराहारीमा मानिसहरू कोरोनाबाट संक्रमित भइसकेका छन्। 

अमेरिकी सरकारले बढ्दो कोरोना समस्याका कारण यसै साता आफ्ना नागरिकलाई ‘थ्याङ्स गिभिङ डे’ को अवसरमा यात्रा नगर्न अनुरोध गरेको थियो। तर, सरकारको अनुरोधलाई वेवास्था गर्दै अमेरिकी जनता मजाले यात्रा गरिरहेका छन्। 

‘थ्याङ्स गिभिङमा यात्रा गरिरहेका ५ करोड मानिसमध्ये १ प्रतिशतमा मात्र भाइरस सर्ने हो भने देशभरि थप ५ लाख नयाँ संक्रमित देखापर्ने छन्,’ अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2020-11-23 13:25:00

प्रतिकृया दिनुहोस्