लिंग परिवर्तनका कारण ५२ वर्षअघि जागिर गुमाएकी कम्प्युटर इन्जिनियर

सन् १९६८ मा लिन कान्वे चर्चित कम्प्युटर कम्पनी आइबीएममा कम्प्युटर इन्जिनियरको रूपमा काम गर्थिन्। 

एक दिन उनलाई कम्पनीका निर्देशक जिन मेरन अमदालले कार्यालयमा बोलाए। र, लिंग परिवर्तन गर्न लागेको कान्वेको विषयमा विस्तृत जानकारी लिए। 

कान्वेले लिंग परिवर्तन गर्न लागेको घटनासँग अमदाललाई खासै कुनै आपत्ति थिएन। 

तर, कम्पनीका प्रमुख कार्यकारी निर्देशक थोमस जे वाट्सन जुनियर भने कान्वेको लिंग परिवर्तन गर्ने निर्णयको विपक्षमा थिए। 

उनले कान्वेलाई लिंग परिवर्तन नगर्न धेरै सम्झाए। तर, कान्वे मान्नेवाला थिएनन्। उनले लिंग परिवर्तन गरेँ। यो घटनाका कारण उनले आइबीएमको आकर्षक जागिर गुमाउनु पर्‍यो।

यो घटनाको ५२ वर्षपछि कान्वेलाई आइबीएम कम्पनीले पुनः कार्यालय बोलाएको थियो, त्यो पनि उनीसँग कुराकानी गर्न। 

गत महिना आइबीएमका बरिष्ठ उपाध्यक्ष डायने गेरसनले कान्वेसँग लामो छलफल गर्दै भने, ‘कम्पनी तपाईंहरू जस्ता कर्मचारीलाई सहयोग गर्न चाहन्छ।’

कम्पनीको परिवर्तन भएको सोच देखेर कान्वे चकित परिन्। ८२ वर्षको उमेरमा उनलाई कम्पनीले हालै ‘लाइफ टाइम अवार्ड’ बाट पनि सम्मानित गरेको छ। 

कान्वे भन्छिन्, ‘यो मेरो लागि अप्रत्यासित थियो।’ आइबीएम कम्पनीले यतिबेला कान्वेसँग माफि मागेको हो, ४ महिनाअघि सर्वोच्च अदालतले समलिङ्गी वा ट्रान्सजेन्डर भएको आधारमा कसैलाई जागिरबाट निकाल्न नपाइने एउटा फैसला सुनाएको थियो।
 
कान्वेको साथी तथा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीकी साइन्टिस्ट रोचल डायमण्डका अनुसार गत शुक्रबार ‘ट्रान्सजेण्डर डे’ मनाउने क्रममा कान्वेलाई यो निर्णयको विषयमा थाहा भएको हो। 

सन् १९६४ मा जागिरबाट निकाल्दा कान्वेले पनि खासै कुनै प्रतिक्रिया नदिएको उनको साथी क्रिस्टिना बन्र्सले बताइन्। जागिरबाट निकालिएपछि कान्वेले सर्जरी गरेकी थिइन्।

आफ्नो लिंग परिवर्तन गरेपछि कान्वेले सन् १९७३ मा जेराक्स रिसर्च सेन्टरमा काम गरिन्, जहाँ उनले कम्प्युटर चिपको डिजाइन तयार पारेकी थिइन, जुन अहिले विश्वका लागि बरदान सावित भएको छ। 

सन् २००० मा उनले एउटा वेभसाइडको डिजाइन गरेकी थिइन। यहाँ उनी लिंग पहिचानको विषयमा लेखहरू लेख्ने गर्छिन्।

प्रकाशित मिति: : 2020-11-23 08:32:00

प्रतिकृया दिनुहोस्