अमेरिकाले आफ्ना नागरिकलाई डिसेम्बरको दोस्रो हप्तामा कोरोना भाइरसविरुद्धको खोप दिने तयारी थालेकाे छ।
अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डा मोन्सेफ स्लाओइले डिसेम्बर ११ देखि नै खोप दिने गरि तयारी थालिएको जानकारी दिएका हुन्।
डा स्लाओइले भने, ‘खोपले स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई उपलब्ध गराउने तयारीका साथ काम भइरहेकाे छ। याे खाेप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने छ।’
महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो हप्तामा संक्रमण, मृत्यु तथा अस्पताल भर्नादर बढ्दो क्रममा छ।
अहिलेसम्म अमेरिकामा एक करोड २२ लाख १९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भइसकेकाे छ।
अमेरिकामा दैनिक झण्डै दुई लाख मानिस संक्रमित हुने गरेका छन्। अहिलेसम्म दुई लाख ५६ हजार सात सय भन्दा धेरै अमेरिकीको ज्यान गइसकेकाे छ अमेरिकामा।
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको खोप प्रभावकारी देखिएको छ।
दुई डोज दिइनु पर्ने सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ।
उनीहरुले अमेरिकामा आपतकालीन रुपमा खोपको प्रयोगका लागि स्वीकृति लिन शुक्रबार निवेदन दिएका छन्।
यो वर्षको अन्त्यसम्ममा फाइजरले खोपको पाँच करोड डोज उत्पादन गर्ने अपेक्षा गरेको छ।
डा स्लाओइले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए। तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ।
फाइजरको उक्त खोप परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो।
फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो।
फाइजरको खोपलाई अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृतिको तयारी पनि गरेको जनाइएको छ।
एफडिएको भ्याक्सिन एड्भाइजरी कमिटिको बैठक डिसेम्बर १० मा बस्ने छ। सो बैठकमा खोपलाई स्वीकृति दिने वा नदिने बारे छलफल हुनेछ।
स्वीकृति मिलेमा त्यसको भोलिपल्टदेखि नै खोप अभियान थाल्ने गरि तयारी भएको डा स्लाओइले सिएनएनलाई बताएका छन्।
हरेक राज्यको जनसंख्या अनुसार खोप वितरण गर्ने योजना रहेको छ। कसले खोप लगाउन पाउने छन् भन्ने निर्णय गर्ने अधिकार राज्यहरुमै रहने डा. स्लाओइले बताए।
फाइजरसँगै अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको खोपको प्रभावकारिता पनि ९५ प्रतिशत देखिएको छ र सो खोपले पनि आउँदा हप्तामा स्वीकृति लिने तयारी गरेको छ।
परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।
खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँने कम्पनीले दाबी गरेको छ।