एक साता अघिसम्म राजधानीका भोका पेटहरूलाई भात बाँड्दै गरेकी भेटिन्थिन् ‘आमा’ अर्थात इन्दिरा रानामगर।
उनी राजधानीका गल्ली-गल्ली चहार्ने भोका पेट खोज्दै दैनिक ७ सयजनालाई खाना खुवाइरहेकी हुन्थिन्।
तर, यतिबेला उनको शरीर लत्रिएको छ, पूरै शिथिल बनेर।
कारण हो, कोरोना संक्रमण।
उनको शरीरमात्र लत्रिएको छैन, मन पनि उस्तै बैराग लाग्दो बनेको छ।
सेवा गर्ने मनकारीहरूलाई पनि रोगले कहाँ छोड्दो रहेछ र?
भोका पेटको सहारा बनेकी उनी आफै संक्रमित बन्न पुगिन्।
संक्रमित बनेपछि जति उनलाई शरीर शिथिल बनेको चिन्ता छ, त्योभन्दा धेरै भोका पेटहरूको सुर्ता।
उनमा जाँगर छैन। बोल्न मन लाग्दैन। टाउको भनभन्ती दुखिरहेको हुन्छ। तै पनि तारन्तार उनलाई फोन आइरहेको हुन्छ।
‘फोन उठाउने पनि जाँगर छैन। तर, के गर्नु मनले मान्दैन!,’ इन्दिराले आयोमेलसँग भनिन्।
‘फोन उठाइनँ भने पनि कसैले चित्त दुखाउलान्, मेरो प्रतिक्षामा बसिरहेका भोका पेटहरूले छटपटाउँदै खोजिरहेका होलान् भनेर सकिनसकी फोन उठाइरहेकी हुन्छु,’ उनले भनिन्।
‘आमा भोक लाग्यो!’
‘खाना कहिले आउँछ?’
‘किन खाना आएन?’
‘फोन कानमा लगाउन नपाउँदै न्यास्रिएका स्वरहरूले यस्तै प्रश्न तेस्र्याइरहेका हुन्छन्। कटक्क मनै काट्ने गरी,’ उनी निराश हुँदै भन्छिन्।
मन भक्कानिन्छ। गह भरिलो हुन्छ। सन्चो छैन, भोलि–पर्सीबाट भातको पोका लिएर आउँछु है...! भन्दै आश्वासन दिन थालेको पनि हप्तादिन भइसक्यो।
सञ्चो छैन भनेपछि उनीहरूले विश्वास नै नगर्ने गरेको उनी सुनाउँछिन्।
र, अन्तिममा भन्न बाध्य हुन्छिन्, ‘मलाई कोरोना संक्रमण भएको छ। अहिले अस्पतालको बेडमा लडिरहेकी छु।’
उनीहरू फोनमा ‘भगवानले तपाईंको रक्षा गरुन् आमा, छिट्टै निको हुनुस्’ पुकार गरिरहेका हुन्छन्।
...
पछिल्लो नौ महिनादेखि काठमाडौंका भोकाहरूलाई भातका पोका बाड्दै आएकी थिइन् इन्दिरा।
‘आफ्नो ज्यानको पीर एकातिर छ, भोकाहरूको पीडा र दुःख अर्कोतिर,’ अस्पतालको शय्याबाट इन्दिरा भन्छिन्, ‘भोक लाग्यो भन्दै दिनमा आठ–दसजनाको फोन आउँछ। साह्रै नरमाइलो लाग्छ।’
घरमा उनका १५/१६ जना छोराछोरी छन्। ती उनका आफ्नै छोराछोरी भने होइनन्। उनले ‘बन्दी सहायता नेपाल’ नामक बालआश्रम सञ्चालन गरेकी छिन्।
र, त्यहीँ उनले बेसहारा बनेका १५/१६ जना बालबालिकाको हेरचाह गर्दै आएकी छिन्।