कोरोनामा फ्रान्सले उछिन्यो युरोपका अन्य देशलाई, २० लाख मानिस प्रभावित

युरोपका सबै देशलाई उछिन्दै फ्रान्स कोरोना भाइरस प्रभावित नम्बर–एक देश बन्न पुगेको छ। फ्रान्समा मंगलबार राती कोरोना संक्रमितको संख्या २० लाख पुगेसँगै युरोपका अन्य देश पनि संशकित भएका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पटक–पटक दिएको चेतावनीका बाबजुद फ्रान्सले लकडाउनलाई खुकुलो बनाएको थियो भने स्कुल र कलेज खुल्ला गर्ने निर्णय गरेको थियो। 

यसको नतिजा अहिले यो देशले भोग्दै छ। युरोपमा चिसोको मौसम सुरु भएसँगै फ्रान्सले केही दिनअघि निश्चित शहरमा लकडाउनलाई कडा बनाउने निर्णय गरेको थियो। तर, त्यसको असर फ्रान्समा देखिएको छैन। 

फ्रान्सको स्वास्थ्य विभागका निर्देशक जेरोम सालोमनले शहरी क्षेत्र मात्र नभई गाउँमा पनि कोरोनाको प्रभाव बढेको पहिलो पल्ट स्वीकार गरेका छन्। उनले कोरोनाको पहिलो चरणभन्दा दोस्रो चरणमा स्थिति भयावह भएको बताएका छन्। 

स्थानीय पत्रकारलाई मंगलबार राती अन्तर्वार्ता दिनेक्रममा उनले भनेका छन्, ‘अहिले हाम्रो पुरै स्वास्थ्य क्षेत्रमा यसले निकै ठूलो प्रभाव पारेको छ।’

फ्रान्समा मंगलबार राती कोरोना संक्रमितको संख्या २० लाख ३६ हजार नाघेको थियो। हालसम्म यहाँ ४६ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। 

डब्ल्यूएचओले चिसोको मौसममा कोरोना संक्रमितको संख्या बढ्ने चेतावनी पहिले नै दिएको थियो।

स्वास्थ्य संस्थाले फ्रान्समा हाल ३३ हजार १ सय ३९ जना अस्पतालमा भर्ना भएको तथ्यांक बाहिर ल्याएका छन्। 

सोमबार र मंगलबार कै बीचमा यहाँ १२ सयभन्दा बढी मानिसको निधन भएको थियो। 

कोरोना संक्रमितको संख्या दिनहुँ ४५ हजारभन्दा माथि देखिन थालेका छन्। 

अस्पतालमा बिरामीलाई राख्न बेडको संख्या कम हुँदै गएको स्वास्थ्य संस्थाको भनाई छ। हाल आईसीयूमा मात्र ४ हजार ८ सय ३८ जनालाई भर्ना गरिएको छ।

प्रकाशित मिति: : 2020-11-18 22:53:00

प्रतिकृया दिनुहोस्