यमनमा पहिलोपल्ट महिलाले खोलिन क्याफे

यमनका महिलाले पहिलो पल्ट क्याफे खोलेका छन्। इस्लामिक देश यमनमा महिलाले क्याफे खोल्नुलाई ठूलो कुरा मानिन्छ। पितृसत्ता रहेको यो रुढिवादी देशमा खोलिएको क्याफेमा महिलामात्र उपस्थित हुन सक्ने छन्। तर, उनीहरूलाई क्याफेमा गएर समय बिताउन कुनै रोकटोक हुने छैन।

उम फेराज नाम गरेकी महिलाले क्याफेको सुरुवात गरेकी हुन्। उनी यमनी महिलालाई व्यापारको महत्व सम्झाउन आफूले क्याफे खोलेको बताउँछिन्। भन्छिन्, ‘महिलाका लागि यमनमा कुनै यस्तो ठाउँ छैन, जहाँ उनीहरू निर्धक्क भएर समय बिताउन सक्छन्।’

उनले यमनको रुढिवादी समाजलाई चुनौती दिन पनि यसको सुरुवात गरेको बताउँछिन्। ‘यहाँ केही मानिसहरू मेरो कामबाट त्यति खुसी छैनन्।

 उनीहरूका अनौठो मान्छन्। मलाई थाहा छ– नयाँ काम गर्दा मानिसहरूको विभिन्न प्रतिक्रिया हुनेगर्छ। तर, म आफ्नो परिश्रमबाट सबै कुरा प्रमाणित गर्न चाहन्छु। महिला पनि व्यापार व्यवसायमा सफल हुन्छन् भन्ने स्थापित गर्न चाहन्छु,’ उनले भनेकी छिन्। 

उनको क्याफेमा कर्मचारी पनि महिला छन्। उम फेराजले क्याफेको नाम ‘मनिङ आइकन क्याफे’ राखेकी छिन्। जुन मध्य यमनको मरिबमा छ। 
क्याफेमा भेटिएकी एक मेडिकल छात्रा वाददले यहाँ आउनुुको कारण बताउँदै भनेकी छिन्, ‘मरिब यस्तो ठाउँ हो, जहाँ इन्टरनेट कनेक्सन सबैतिर उपलब्ध छैन। तर, क्याफेमा इन्टरनेटको सुविधा छ। छात्राको लागि यो उत्कृष्ट ठाउँ हो।’ 

केही वर्षदेखि यमनको अवस्था ठिक छैन। यहाँ हरेक दिन कुनै न कुनै रूपमा हिंसाको घटना हुँदै आइरहेको छ। यस्तो अवस्था र कोरोना महामारीका बीच क्याफेको सुरुवात गर्नु फराजको लागि थप चुनौतीको विषय हो।

प्रकाशित मिति: : 2020-11-16 17:02:00

प्रतिकृया दिनुहोस्