‘हेलो डियर सुन् न’ कहिले काहीँ मलाई अत्याधिक पीडा हुन्छ। मनको पीडा बाहिर निकाल्नै सक्दिनँ। कसैलाई भन्नै सक्दिनँ।
सम्झिन्छु कि मेरो जिन्दगी नै सकियो। म सँगै हिँड्ने घडीका काँटाहरु सबै रोकिए। कुनै बाटो पनि देख्दिनँ। सबथोक बर्बाद भए झैं लाग्छ।
मलाई थाहा छ कि मैले अझै बाँच्नु छ, नयाँ काम गर्नु छ। तर मन, मस्तिष्क भने एक इन्च पनि चल्न÷ चट्पटाउन मान्दैन। बारबार त्यही पीडाले चिमोटिरहन्छ, थेचारिरहन्छ, थिचिरहन्छ। म सोच्न चाहँदिन तर पीडा आफू हटेर पनि जाँदैन।
प्रेममा धोका खाएकी छु। विश्वास तोडिएर तहसनहस भएकी छु। भरोसा भत्किएर क्षतविक्षत भएकी छु। कुनै दिन आत्महत्या गरेर मरिदिन्छु।
एउटीले बोलिसक्ने बित्तिकै अर्की बोल्न थाल्छ।
अरे! जुनसुकै सम्बन्ध पनि जिन्दगीको लागि हुन्छ? जिन्दगी सम्बन्धको लागि कहिल्यै हुँदैन भनेर बुझ्छु म चाहिँ। मैले तिमीलाई पटकपटक भनेको छु! जब तिमी आत्महत्याको कुरा गर्छौ नि त्यहीँ बाट थाहा हुन्छ कि तिमी कमजोर छौं भन्ने कुरा।
तिमी जिन्दगीमा जहाँको त्यहीँ रहनेछौं। यसकारण कि तिमीले न हिजो केही गर्यौ, न आज केही गर्छौं, न त भोली नै केही गर्नेर्छौं।
किनकी तिमी बिगतबाट ब्युझनै सकेकि छैनौं। अर्को कुरा जब तिमी सम्बन्धमा रहन थालेको थियौं तब तिम्रा अन्य अनिवार्यताहरु पनि थिए। अन्य कामहरु पनि थिए। अन्य मानिसहरु पनि थिए। जसलाई वेवास्ता गर्दै, गहिर्यौ। फलतः तिमीलाई छिमेकी, आफन्तहरुले, समाजले, तिम्रो अवस्था नाजुक बन्दै गइरहेको, व्यक्तित्व गिर्दै गइरहेको र बर्बादी नजिकिँदै गइरहेको भेटे।
सम्बन्ध सजिलो कहिल्यै हुँदैन। सुन न जब सम्बन्ध कलिलो हुन्छ, तब हर एक पल सुन्दर लाग्छ, मीठो लाग्छ। तर जब सम्बन्ध छिप्पिदै जान्छ तब कुरुप लाग्दै जान्छ। तितो लाग्दै जान्छ र समस्या शुरु हुन थाल्छ।
थाहा छ यसको कारण के हो? जिम्मेवार को हो? कारण तँ स्वयं हो। किनकी सम्बन्ध जोगाई राख्न तिमीलाई नै नआएको हो, तिमीले नै नजानेको हो।
तिमी भन्छौं कि, ‘मैले मेरो तर्फबाट कुनै गल्ती गरेको छैन। सधैँ राम्रो नै गरेको छु।’ तर सिर्फ गल्ती नगर्नु र राम्रो गर्नु मात्रै सम्बन्धको परिभाषा होइन। एउटा सम्बन्धलाई बचाउन दुई व्यक्ति जोडिएका हुन्छन् भन्ने हाम्रो सामान्य बुझाइ छ। तर ति दुई व्यक्ति मात्रै सम्बन्धमा कहिल्यै हुँदैनन्।
दुई संसार, दुई भूगोल, दुई संस्कार, दुई परिवेश या त दुई भिन्नभिन्न कुराहरु हुन्छन्। जो अलगअलग थिए तर एक हुन गइरहेका हुन्छन्। सामन्य विचार या त मन मिलेन भने सम्बन्धमा चिसोपन आउँछ।
कुनै सम्बन्धमा तिमीलाई धेरै खुशी मिलेको छ भने तिमीले धेरै आँशु बगाउने क्षमता पनि राख्नुपर्छ। अझ जुन सम्बन्धले खुब धेरै खुशी दिएको हुन्छ। त्यही सम्बन्धले डरलाग्दो पीडा पनि दिएको हुन्छ भन्ने लाग्छ मलाई त।
सधैँ खुशी र प्रेममा मात्रै गुलियो जिब्रो पड्काउन चाहनेले सम्बन्धमा टर्रोपन आएपछि अमिलो जिब्रो पड्काउँछ र खुब गाली गर्छ सम्बन्धलाई।
प्रायजसो सम्बन्धमा बसेपछि कतिपय कुराहरु बिर्सिन पनि सिक्नुपर्छ। भूल्न पनि जान्नुपर्छ। कल्पना गर् त एकचोटी, कति मिठो हुन्छ त्यति बेला जति बेला तिम्रो सम्बन्धमा रहेको प्रिय मान्छेको गल्ती भूल्छौ तिमिले माफी दिन्छौं।
गाह्रो पक्कै हुन्छ तिमीलाई कठिन त पक्कै हुन्छ। आफ्नो सम्बन्धमा रहेको प्रिय मान्छेको भयङ्कर ठूलो गल्तीलाई सजिलै बिर्सिन, सजिलै भूल्न र सजिलै माफ दिन। अर्को कुरा जब तिमी उसलाई माफ गर्दिनौं तब तिमीलाई पनि कुनै आराम चाहिँ मिल्दैन।
माफ तिमीले यसकारण गर्ने हैन कि उसको दया लागेर वा ऊ प्रति माया जागेर या त ऊ आफ्नो सम्बन्धको प्रिय मान्छे हो भनेर। माफ यसकारणले पनि गर्नुपर्छ कि तिमलाई आफ्नै पीडा सहन गाह्रो भइसकेको हुन्छ र आत्महत्यासम्म सोच्ने फुर्सद मिल्छ तिमीलाई।
हो, यदि सम्बन्धमा ज्यानै जानेसम्मको नमीठोपन आयो भने तिमीले त्यहाँबाट बाहिर निस्कनुपर्छ र आफूलाई बदल्न हमेशा कोशिश गरिरहनु पर्छ। मनलाई सम्हाल्न, दिमागलाई जोगाउन र शरीरलाई बचाउन पलपल कोशिश गरि नै रहनुपर्छ।
जीवन एक चक्र नै हो। घुम्दै, डुल्दै जाँदा कोही फेरि जोडिन्छ त कोही तोडिन्छ। मुहानबाट छुटेको पानी धेरै चिजहरुसँग जोडिन्छ– बिछोडिन्छ, हाँस्छ, रुन्छ। तै पनि बगिरहेको हुन्छ। अघि बढिरहेको हुन्छ। किनकी कोही एकजना जाने बित्तिकै जिन्दगीको लिलामा समाप्त हुन्छ भन्ने कुरा होइन।
नभूल प्रिय, पछिल्लो चोटी जोसँग तिमी जोडिन्छौं अर्थात् जो तिमीसँग जोडिन्छ, फेरि त्यो मान्छेको बिगतलाई तिमीले पूरै बिर्सिदिनु पर्छ। जो मान्छे आज तिम्रो इज्जत गरेर तिमीसँग इमान्दार बन्छ भने उसको पूरानो कुरालाई माफ गर्नुपर्छ तिमिले।
यदि साँचो प्रेम उसलाई गर्छौं भने उसको बिगत र उसका यावत् गल्तीहरुलाई माफ गर्नैपर्छ। गल्ती मान्छेबाटै हुन्छ। जसरी आफ्नो गल्ती हुँदा तिमी आफूलाई माफ गर्छौ त्यसरी नै उसलाई पनि माफ गर्न सक्नु नै तिमी मानव हुनुको विशेषता हो।
सबैकुरा भूलेर तिमिले माफ गर्न सिक। जस्तो कि कुनै बच्चालाई हामी गाली गर्छौं, पिट्छौं र केही समय पछि फेरि उसलाई फकाउँछौं। त्यो बच्चाले आफू दुखेको कुरा कति सजिलै भूल्छ र फेरि हामीसँग उसैगरि मुस्कुराउँछ, प्रेम गर्छ, खेल्छ, घुम्छ, चुम्छ, जिस्किन्छ।
जिन्दगी यति विघ्न कठिन हुँदै हुँदैन। जिन्दगीलाई कठिन त हामी बनाइदिन्छौं। जब हाम्रो उमेर बढ्दै जान्छ, हामी जवान हुँदै जान्छौं। तब हामीमा बुद्धि पलाउँदै आउँछ, घमण्ड पलाउँदै आउँछ र कसैले हामीलाई माफ गरेन भने ऊसँग बदलाको भावना राख्दै जान्छौं।
दुश्मनी मोल्दै जान्छौं। जसले नोक्सान हामीलाई नै हुन्छ। तनावमा हामी नै हुन्छौं। चोट हामीले नै सहनु पर्छ। यदि हामी कहिल्यै पनि माफी माग्दैनौं भने संसारका भए जति दुःख पनि हामीले नै भोग्छौं।
तिमीले कसैलाई माफ गरिदेऊ।
कसैले तिमीलाई माफ गरिदिनेछ।
सम्बन्ध यसै मीठो हुनेछ।
सधैँ प्रगाढ रहिरहने छ।