बिहारमा लालु यादवका छोरा तेजस्वी इतिहास रच्ने दाउमा

बिहारको विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ। 

बिहारमा तीन चरणमा भएको चुनावको मतगणना भोलि अर्थात मंगलबार हुदैछ। हालसम्म देखिएको एक्जिट पोलको नतिजामा तेजस्वीले नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ले बाजी मार्ने देखिएको छ। 

यसअघिको चुनावमा वर्तमान मुख्यमन्त्री नितिज कुमारको मन्त्रीमण्डलमा तेजस्वी उप–मुख्यमन्त्री थिए। तर, उनले राजदसँगको समिकरण परिवर्तन गर्दै हाल केन्द्रमा रहेको भारतीय जनता पार्टीको घटक एनडीएसँग सम्झौंता गरेपछि तेजस्वी मन्त्रीमण्डलबाट बाहिरिएका थिए। 

भोलिको नतिजामा बाजी मारे तेजस्वी भारतीय लोकतन्त्रमा सबैभन्दा कान्छो उमेरमा मुख्यमन्त्री बन्ने इतिहास रच्न सफल हुनेछन्। उनको हाल उमेर ३१ वर्ष छ। यसअघि १९६८ मा सतिश प्रसाद सिंह ३२ वर्षको उमेरमा बिहारको मुख्यमन्त्री भएका थिए। 

भारतीय राजनीतिमा सबैभन्दा कान्छो उमेरमा मुख्यमन्त्री बन्ने कीर्तिमान एमओ हसन फारुकले बनाएका थिए। उनी १९७५ मा पुण्डुचेरीको मुख्यमन्त्री बन्दा उनको उमेर २९ वर्ष थियो। तर, त्यतिबेला यो राज्य केन्द्र शाषित थियो। बिहार पूर्ण राज्य हो। 

यसपालि युवाहरूलाई रोजगारीको नारा दिएका तेजस्वीको चुनावी अभियानमा धेरै मानिस जोडिएका थिए। उनलाई यादव र मुस्लिमहरूले अत्याधिक मत दिएको अनुमान गरिएको छ। 

बिहारमा २ सय ४३ सिटमध्ये चुनाव जित्न १ सय २२ मत आवश्यक पर्नेछ।

प्रकाशित मिति: : 2020-11-09 21:26:00

प्रतिकृया दिनुहोस्