अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सीसीएमसीकाे सिफारिश

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिश गरेको छ।

आइतबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो। 

‘पर्यटन गतिविधि बढाउन केबलकार सञ्चालन, जंगल सफारी, साहसिक  खेलहरु पनि खुला गर्ने पनि सिफारिश गरेका छौं,’ सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंले भने। 

उनका अनुसार बैठकले कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ।

यसका साथै विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिश गरेको छ।

यस्तै सिसिएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार स उडान बन्द गर्न सिफारिश गरेको छ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै  उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिश गरेको सचिव गुरागाईंले बताए। 

‘विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले लगभग उद्धार सकिएको छ। कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउन सिफारिश गर्ने निर्णय गरेका छौं,’ उनले भने। 

सचिव गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने समेत छलफल भएको छ ।

 

प्रकाशित मिति: : 2020-11-08 18:21:00

प्रतिकृया दिनुहोस्