अमेरिकामा जो बाइडन-कमला ह्यारिस विजयी भएकोमा यहाँको बहुमत नेपाली डायस्पोरामा खुशी छाएको छ। ठूलो संख्यामा डेमोक्रेट्स रहेको यो डायस्पोराका अगुवाहरू यतिबेला बाइडन-ह्यारिसलाई वधाइ दिदै एकआपसमा खुशी साटिरहेका छन्।
केहीले जितको सन्दर्भ बुझेर शालिन प्रतिक्रिया दिएका छन् भने केहीको प्रतिक्रिया उत्तौलो खालको पनि छ। उनीहरूको यस्तो प्रतिक्रिया ट्रम्पकन नेपालीको छिच्चरो प्रतिक्रियाको जवाफ जस्तो देखिन्छ।
अमेरिकाको नेपाली डायस्पोरामा मात्रात्मक हिसाबले कम रहेका रिपब्लिकन नेपाली पनि बेखुशी छैनन्। ट्रम्प- पेन्सको जोडी हारे पनि रिपब्लिकन पार्टी नहारेको भनेर उनीहरू सन्तोष मानिरहेका छन्। हुन पनि यो चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसको माथिल्लो सदन सिनेट लगभग जोगाएको छ भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा केही संख्या थपेको छ। यो कोणभन्दा हेर्दा रिपब्लिकन पार्टी हारेको छैन। एक किसिमले भन्ने हो भने ट्रम्पको अतिबादबाट थप बर्बाद हुनबाट चार वर्षअघि नै जोगिएको छ।
यो चुनावमा हारेको भनेको ट्रम्प-पेन्स जोडी नै हो। त्यसमा पनि मूलत: हार्ने भनेका ट्रम्प नै हुन्। यद्यपि, उनले पनि पहिलेको भन्दा धेरै मत ल्याएका छन्। अश्वेत र हिस्पानिक मतसंख्या बढाएका छन्। खासगरी क्युबन हिस्पानिकलाई त समाजवादी डर देखाएर आफ्नो पोल्टामा ल्याए भने पनि हुन्छ। मत बढाउँदा बढाउँदै पनि हारको अन्तर बढेको छ, त्यो बेग्लै कुरा हो।
यो हारबाट केही ट्रम्पकन नेपाली भने विक्षिप्त देखिएका छन्। उनीहरूमध्ये केही ट्रम्पभन्दा पनि एक पाइला अघि बढेर बाइडन-कमलालाई धारेहात लगाइरहेका छन्। केही बुधबार विहानै फेसबुकका भित्तामा भँगेरे अक्षरमा ट्रम्पलाई दिएका वधाइ र शुभकामना मेटिरहेका छन्। केही छेपारेले रूप फेरेर आफू बाइडनको समर्थक भएको बताइरहेका छन् भने केही मिलेर जाने बताउन थालेका छन्।
यसैबीच केही ट्रम्पकन आखिर जस्ले जिते पनि नेपालीलाई फरक नपर्ने बताइरहेका छन्। यो मेसोमा अन्य केही जाने बुझेका नेपाली पनि देखेको छु। त्यसमा पनि घुमाउरो पारामा ट्रम्पको समर्थन गर्नेहरू नै बढी छन्। अपवाद भने नीलो कित्तामा पनि छ।
अमेरिकामा बाइडन-कमला विजयी भएकोमा यहाँको बहुमत नेपाली डायस्पोरामा खुशी छाएको छ। सानो संख्यामा रहेका रिपब्लिकन नेपाली बेखुशी नभए पनि केही ट्रम्पकन नेपाली भने विभिन्न छिरबिरे रूप र मुद्रामा प्रस्तुत भैरहेका छन्।
हो, हरेक व्यक्तिको दैनिन्दिनीमा यसले खासै फरक पार्दैन। तर, ह्वाइट हाउसमा जाने व्यक्ति र शक्तिसँगको कुनै न कुनै कुनै किसिमको प्रोक्सिमिटीले ठूलो अर्थ राख्छ।
बाइडन-कमलाको जोडी ह्वाइट हाउस जानुको वहुआयामिक अर्थ छ। तीमध्ये केहीको टिपोट गर्दा यस्तो सूची बन्छ, १. यो जोडीले नेपाललाई निपोल भन्दैन।
२. यो जोडीले आप्रवासीलाई रेपिस्ट र उनीहररूको देशलाई सिट होल भन्दैन ।
३. यो जोडी ६ पटक ब्यांक्रप्ट भएको हैन।
४. यो जोडी अमेरिका फस्टका नाममा श्वेत-सर्वोच्चताको पक्षपोषण गर्दैन।
५. यो जोडी आफूलाई कानूनभन्दा माथि राख्दैन।
६. यो जोडी जंगेले बोलेपछि बोल्यो बोल्यो भनेजस्तो गरेर कार्यकारी आदेशले शासन गर्दैन।
७. यो जोडी बिलिनियर भएर पनि ७५० अमेरिकी डलर ट्याक्स तिरेर बाँकि छल्दैन।
८. यो जोडी पर्नस्टारलाई एकलाख तीस हजार डलर तिरेर मुख बुजो लगाउँदैन ।
९. यो जोडी चीनमा मेक अमेरिका ग्रेट क्याप बनाएर अमेरिका फस्टको पाखण्ड देखाउँदैन।
१०. यो जोडी दिनमा औसतमा २६ पटक झुट बोल्दैन।
११. यो जोडी पुटीन, शी र किमसँग हात मिलाएर ट्युडो, मर्केलसँग पौठेजोरी खेल्दैन।
१२. यो जोडी दिनमा सयौै ट्विट गरेर कसैमाथि बुलिङ गरेर बस्दैन।
१३. यो जोडी विज्ञानलाई मान्छ, धर्मान्धतालाई हैन।
१४. यो जोडी पैसाभन्दा मानवतालाई बढी महत्व दिन्छ।
१५. यो जोडी जहाँनिया शासन जस्तो छोरी,ज्वाइँलाई सल्लाहकार बनाउँदैन।
१६. यो जोडी ट्याक्स लुकाउन मुद्दा मामिला गर्दैन।
१७. यो जोडी ग्लोकलाइजेसन हैन, ग्लोबलाइजेसनमा विश्वास गर्छ।
जब विगतभन्दा यो अर्थमा फरक हुन्छ भने जो आए पनि केही फरक पर्दैन भन्ने खालको सामान्यीकरण गर्ने दिशामा जानु श्रेयस्कर हुदैन। हामीले सबै टोकरीका माल एउटै हुन् भन्न थाल्यौ भने त्यसमा भएका राम्रालाई पनि नराम्रो लेबल लगाउन पुग्छौं ।
अझ यसो पनि भन्न सकिन्छ, कहाँको बाइडन कहाँको ट्रम्प। अमेरिकीले भन्ने गरेको क्यारेक्टरको कुरा गर्ने हो भने यी दुई ३६ हुन्, यिनीहरू 69 हुनै सक्दैनन्।
यो तथ्य हो, तर्क हैन। जब धुलो नभएको शिशाबाट हेर्दा यति सङ्लो तस्बिर देखिन्छ भने आफू र आफ्ना त अमेरिकी भैहाले, बाँकिलाई किन आउन दिने भन्ने स्याडिस्ट सोचको आधारमा हामी नेपालीको आधारभूत चरित्र वशुधैव कुटूम्बकम् नभुलौ। अमेरिका आएपछि कोही डेमोक्रेट्स हौं, कोही रिपब्लिकन हौे, कोही लिबर्टियन र ग्रीन पनि हौ तर २१औं शताव्दिमा कुनै पनि व्यक्तिको पिछलग्गु नहौं । यो नै अमेरिकामा रहेको नेपाली डायस्पोराका लागि पे अफ लाइन बन्नुपर्छ। अन्यथा, हामी नेपाली भनेको व्यक्तिको पछि लाग्ने पिछलग्गु समुदाय भन्नेखालको गलत छवि बन्न सक्छ।
जब हामी नेपाल र नेपालीको यस्तो छवि बनाउँछौ भने कसरी जपी रहन सक्छौ र- जननी जनम्भूमिश्च स्वर्गादपि गरियशी ?
(अमेरिकामा रहेका नेपालीको प्रतिनिधिमुलक तस्विर : न्युयोर्कका महेश मल्ल र पुनम राना मल्ल। तस्वीर सौजन्य : महेश मल्लको फ़ेसबुक। हामीले यो तस्बिर उहाँहरूको चुनावमा मतदान गरेको प्रजातान्त्रिक चेत र नागरिक दायित्वको सम्मानस्वरूप राखेका हौं । सम्पादक)