‘हिजोजस्तो जोस त छैन, तैपनि काममा रत्तिभर कमी छैन्, अहिले पनि पाँच केजीको हम्बर उचालेर फलाम पिटछु, झन्डै ५० घर बिष्टका फलामे सामग्री बनाएर जीविकोपार्जन गरिरहेको छु।’ उमेरले ८३ वर्ष पुगेका रौतामाई गाउँपालिका–७ का दलमान विश्वकर्माको दैनिकी खन्ती र खलाती कुटेर बितिरहेको छ। सामान्यतया यो उमेर परिवारसँग आराम गर्ने हो। ८३ वर्षसम्म जीवितै रहने मानिसहरू कमै पाइन्छ त्यसमध्येका दलमानमा अहिले पनि युवा जोसजाँगर छ।
१३ वर्षदेखि सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता बुझे पनि उनी त्योभन्दा धेरै गुणा आफैं काम गरेर कमाउने गरेका छन्। उनको त्यो मेहनत र जोसजाँगरको गाउँलेले समेत सम्मान गरेका छन्। समयको परिवर्तनसँगै बजारमा फलामे सामग्री सस्तोमा पाइए पनि उनीप्रतिको विश्वास र गुणस्तरीय काममा बिष्टहरू सन्तुष्ट छन्।
४५ वर्षदेखि निरन्तर फलामको काम कमाउने दिँदै आएका (बालीमा काम गर्न दिएको) खड्गबहादुर खड्का भन्छन्, ‘बजारमा फलामका सामग्री छ्यापछ्याप्ती छ। तर, विश्वास दलमानसँगै छ, उसले गर्छु र सक्छु भनुन्जेलसम्म छोडदिनँ।’ बजार नहुँदादेखि सहयोग गर्दै आएकाले मानवीय हिसाबले पनि छोड्न नमिल्ने उनको भनाइ छ।
‘जति सक्छन्, उति गर्छन्, कामको बेला हामीलाई खाँचो भएको छैन्,’ खड्काले भने, ‘शरीरले सकेसम्म र उनले भयो अब अर्को व्यवस्था गर्नु नभनेसम्म छोडिन्न।’ ५० घर बिष्ट समालेका उनी त्यस क्षेत्रका एक्ला व्यक्ति हुन्। धेरैजसो नगदमा काम गर्ने र केहीले थोरै घरमा मन हार्न नसकेर मात्र काम गर्ने गरेको उनी बताउँछन्।