लहानमा लाइसेन्स नखुल्दा सयौँ युवा बेरोजगार

सिरहाको लहानस्थित यातायात कार्यालयमा नयाँ लाइसेन्स नखुल्दा यससँग सम्बद् धेरै जनशक्ति बेरोजगार बन्न पुगेका छन्। 

कोरोनाका कारण नयाँ लाइसेन्स ट्रायल नखुल्दा फर्म भर्ने, फोटोकपी गर्ने पसलमा आबद् तथा लेखन्दासहरु बेरोजगार बनेका हुन्।

त्यस्तै धेरै ड्राइभिङ सेन्टरमा कार्यरत कर्मचारीहरु पनि कामबिहीन बनेका छन्।

‘एक सयभन्दा बढि जनशक्ति बेरोजगार बनेका छन् , लहानस्थित यातायात कार्यालय अगाडि फोटोकपी गर्ने पसल खोलेका एक ब्यवसायीले भने, ‘आम्दानी नभएपछि घरपरिवार चलाउन र गर्जो टार्न समस्या त परेको छ नै, सटरको भाडासमेत तिर्न गाह्राे भएको छ।

यता सरकारको राजश्व पनि प्रभाबित भएको छ। धेरै राजस्वको संकलन हुने सरकारी कार्यालय मध्ये लहानको यातायात कार्यालय पनि एक हो।

लहानमा मात्रै होइन, कोरोना महामारीका कारण बन्द रहेको सवारी साधनको लाइसेन्सका लागि लिइने ट्रायल देशैभरी खुल्न सकेको छैन। 

सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि ट्रायल भने सुरू हुन सकेको छैन। 

यता ट्रायलको जिम्मा पाएको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता कृष्ण कुमार मिश्रले विभागसँग सल्लाह गरेर खुलाइने जानकारी दिए। 

प्रदेश २ मा लहान र जनकपुरमा यातायात कार्यालयबाट नयाँ लाइसेन्स दिइदै आएको छ।

‘परीक्षामा सोधिने प्रश्न, सफ्टवेयर लगायत जिम्मा हालसम्म विभाग अन्तर्गत नै छ। विभागले भनेअनुसार तयारी गरेर ट्रायल खुलाउछौं,’ मिश्रो भने।

दिनानुदिन कोरोना संक्रमण बढ्दै गइरहेकाले अवस्था हेरेर मात्रै ट्रायल सञ्चालन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए।

‘यो विषयमा हामीले केन्द्र तथा प्रदेश मन्त्रालय, यातायात कार्यालय, ट्रायलको लागि सवारी साधन उपलब्ध गराउने कम्पनी, ड्राइभिङ सेन्टर लगायत सबै पक्षसँग छलफल गरिरहेका छौं,’ उनले भने, ’सबैको सुझाव अनुसार नयाँ कुनै मापदण्ड बनाउने वा पहिले झैं गर्ने निणर्य गर्छौं।’

उनले निणर्य तिहार अगाडि नै गर्ने समेत बताए। ‘तर तयारी गर्न पनि केही समय लाग्ने भएकोले ट्रायल भने तिहारपछि मात्रै खुल्छ होला,’ उनले भने।

सिरहाका प्रमुख जिल्ला अधिकारी  प्रदिपराज कँडेलले वातावरण अनुकुल हुनसाथ लहानस्थित यातायात कार्यालयमा पनि नयाँ लाइसेन्स खोलिने जानकारी दिए।

मलाई कोरोना लागेको छैन: भट्टराई

यातायात व्यवस्था कार्यालय लहानका कार्यालय प्रमुख मिन भट्टराईले आफूलाई कोरोना संक्रमण नभएको बताएका छन्।

दसैअघि बिरामी परेर घर बिदामा बसेका कार्यालय प्रमुखलाई कोरोना संक्रमण भएको हल्ला लहानभरी चलेको थियो।

‘मलाई छातिमा ईन्फेक्सन देखिएकाले केही दिन घरमा बसेर आराम गरेको हुँ, भट्टराईले भने, ‘मलाई कोराना लागेको होइन।’

भट्टराईसँगै यातायात कार्यालयका अर्का कर्मचारी जीवन दाहाललाई पनि कोरोना लागेको हल्ला चलेको थियो।

तर दाहाललाई पनि साधारण रुघाखोकी मात्रै लागेको बताए।

‘दाहाल सर ठिक भएर काममा फर्किसक्नुभएको छ,’ कार्यालय स्रोतले भन्यो।

प्रकाशित मिति: : 2020-11-03 21:40:00

प्रतिकृया दिनुहोस्