करोडौं वर्ष पुरानो मानव सभ्यता अनेक उतारचढावका बीच निरन्तर छ। हिजोआज थरलाई जात मानेर आरोप–प्रत्यारोप चलिरहेको छ। प्रकृतिले मानवलाई एक जात बनायो तर समाज र वंश परम्पराले आफ्नो संस्कार र संस्कृति निरन्तर लाने क्रममा मानवभित्रै अनेक अभ्यास भए र अनेक थरी मान्छे अनेक जाति भनेर चिनिन सुरु गरे। तर ती सबै परिचयका लागि बनाइएको थर थियो। समाज बढ्दै गएपछि थरलाई नै जात भन्न थालियो र थरकै आधारमा मान्छेले मान्छेलाई फरक विभेद र व्यवहार गर्न थाल्यो, जसलाई व्यवस्थित गर्न अब कस्तो थर लेख्दा मानव–मानवबीच भएको विभेद अन्त्य हुन्छ भनेर बहस सुरु भएकाले मलाई लागेका केही विचार प्रस्तुत गर्दैछु।
केही समयदेखि गोत्रलाई थर मानेर हिँडे विभेद नहुने तर्क पनि सुन्नमा आएको छ। यो स्थायी समाधान होइन। किनकि प्रकृतिले मानिस तीन थरी जन्माउँछ– स्त्री लिंग, पुलिंग र उभयलिंग (नपुंसक)। यी तीनथरी मान्छेमा गोत्र चल्ने पुरुषको मात्र हो। यसरी एकथरीको मात्र गोत्र चल्ने भएकाले अर्का दुईथरीलाई समानताका आधारमा सम्मान दिन सकिँदैन।
किन मिल्दैन त स्त्री र उभयलाई गोत्रको मान्यता दिन ?
सनातन मान्यताअनुसार पुरुष वीज हो भने स्त्री प्रकृति। स्त्री प्रकृति भएकाले वीजलाई ग्रहण गरेर नयाँ मानव सृष्टि गर्न सक्छे तर वीज बनेर रहन सक्दिनन्। किनकि सन्तान जो जन्मिए पनि बाउको वीज छोरामा मात्र हुन्छ। छोरी वा अन्यमा हुँदैन। यो प्राकृतिक चरित्र हो। ऋषिहरूले करोडौं वर्ष अनुसन्धान गरेर पत्ता लगाएर पुरुषको गोत्र प्रचलनमा ल्याएका थिए। अहिले त ऋषिले के भनेभन्दा पनि वैज्ञानिकहरूले के भने भन्ने कुरा प्रधान भएको छ। त्यसैले वैज्ञानिक के भन्छन् त वंश परम्पराका बारेमा ?