कोरोना भाइरसको संक्रमण मुक्त भएर मैदान फर्किएका क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेसँगै युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले पराजित गरेको छ।
आइतबार राति अवे मैदानमा भएको खेलमा युभेन्ट्सले खेलको १६ औँ मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले अग्रता लिएकाे थियाे।
घरेलु टोलीले ३२ औँ मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गरे।
दोस्रो हाफको ५६ औँ मिनेटमा प्रशिक्षक आन्द्रीए पिर्लोले पाउलो डिबालाको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराए।
उनले मैदान छिरेको ३ मिनेट नबित्दै युभेन्ट्सलाई अग्रता दिलाए।
६८औँ मिनेटमा एड्रीएन राबीओटले युभेन्ट्सको अग्रता दोब्बर पारे। ७७ औँ मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो।
किएजालाई पेनाल्टी क्षेत्रभित्र बार्तोलोमेईले लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ४-१ को अग्रता दिलाए।
यस जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ। शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १५ अंक जोडेको छ। स्पेजिया भने ६ खेलमा ५ अंकसहित १६ औं स्थानमा छ।