प्रितमलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट यो साल इटहरी–५ का बालगायक प्रितम आचार्य सम्मानित हुने भएका छन्। 

गायनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका १३ वर्षीय बालगायक आचार्यलाई पुरस्कार दिन लागिएको हो। 

आचार्य इटहरीको विश्व आदर्श एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छन्। 

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले सातौ देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार आचार्यलाई दिन लागेको जानकारी दिए। 

पुरस्कार राशी एकाउन्न हजार एक सय एघार रुपैंयाँ रहेको छ। पुरस्कार बैशाखको पहिलो साता वितरण गर्ने लक्ष्य भएपनि कोरोनाको विश्वव्यापी महामारीका कारण स्थगित गरिएको अध्यक्ष ओलीले बताए। 

आचार्यले पाँच बर्षको कलिलो उमेरदेखि गीत गुनगुनाउन थालेका हुन। उनले आठ वर्षको उमेरमा कान्तिपुर टेलिभिजनद्वारा प्रसारित पतञ्जली सुरशाला आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए। १० वर्षको उमेरमा उनी भारतको जीटिभीद्वारा अन्तर्राष्ट्रियस्तरको सारेगमप लिटल च्याम्प्स–२०१९मा तेस्रो भएका थिए।

प्रकाशित मिति: : 2020-11-01 22:23:00

प्रतिकृया दिनुहोस्