टाउको जोडिएको जुम्ल्याहको गोप्य मतदान

नेपालको सीमा जोडिएको बिहार राज्यमा हाल चुनावको रौनक घटेको छैन। यसै साता ७१ सिटका लागि पहिलो चरणको चुनाव सम्पन्न भएको थियो। 

तीन चरणमा हुन लागेको चुनावमा यस्ता थुप्रै घटना भएका छन्। तर, एउटा घटनाले यतिबेला सबैको ध्यान तानेको छ। घटना हो, बिहारको एक चर्चित जुम्ल्याहको मतदान सम्बन्धि खबर। 

सबा र फराह नाम गरेका २३ वर्षीय एक जुम्ल्याहले यसअघिको चुनावमा एउटा मत मात्र खसाल्न पाएका थिए। यसको अर्थ यी जुम्ल्याहलाई चुनाव आयोगले एक जना मात्र मानेको थियो। 

तर, यसपालिको चुनावमा आयोगले दुबैलाई छुट्टाछुट्टै मतदाता मानेर दुईवटा कार्ड उपलब्ध गराएको थियो। 

पटनाको दीघा विधानसभा क्षेत्रमा गएर उनीहरूले छुट्टाछुट्टै मतदान गरे। यसअघि मतदान गर्दा सबाले कसलाई मतदान गर्ने बताएकी थिइन र इभीएम मेसिनको बटन फराहले थिचेकी थिइन। तर, यसपालि दुबैले गोप्य मतदान गरे। 

पहिलो पल्ट गोप्य मतदान गर्दा उनीहरू निकै खुसी देखिन्थे। दुबैको शरीरको बनावट यस्तो छ, एउटाले मतदान गरेको बेला अर्कोले तल हेर्न सक्दिनन्। दुबैको टाउको विपरित दिसामा घुमेको छ। 

भारतीय मिडियामा प्रकासित रिपोर्टअनुसार उनीहरूको टाउको जोडिएको भएपनि सोच फरक छ। सबाको एकाबिहान निन्द्रा खुल्दा फराहलाई आवाज दिएर उठाउने गर्छिन। 

उनीहरूले यसपालि युवा तथा रोजगारीको मुद्धामा भोट गरेको बताएका छन्। उनीहरूले भनेका छन्, ‘हामी पनि युवा हौं। युवाहरूले रोजगारी पाउनुपर्छ। सबैले अधिकार पाउनु। अब आउने सरकारले युवाको अवस्था बुझोस्। मानिसले गरिबीको समस्याबाट छुटकारा पाउनु।’

सबा र फराहको परिवारमा सात जना छोरी छन्। उनीहरू भने जुम्ल्याह जन्मिएका हुन्। फराहको तुलनामा सबा अलि बढी बोल्ने गर्छिन। सबा अलिकति मोटो छिन् भने फराह पातलो छिन्। उनीहरूले दैनिक औषधिको सेवन गर्छन। 

उनीहरूको उपचार एम्सलगायत भारतको चर्चित अस्पतालमा भइसकेको छ। चिकित्सकहरूले सल्यक्रियाद्धारा उनीहरूको टाउकोलाई छुट्टयाउन सकिने बताए पनि एकजनाको जीवन खतरामा पर्ने जानकारी दिएका थिए। त्यसैले उनीहरूले नछुट्टिने निर्णय गरेका थिए। यी दुईमध्ये किड्नी फराहसँग छ। 

बिहारमा यसलाई अनौठो घटना मानेर पटना नगर निगमले उनीहरूको रोजगारीका लागि मौर्या कम्प्लेक्समा एउटा पसल उपलब्ध गराएको छ।

प्रकाशित मिति: : 2020-11-01 15:52:00

प्रतिकृया दिनुहोस्