अमेरिकामा राष्ट्रपति चुनावका लागि तीन दिनको समय मात्र बाँकी छ। कोरोना भाइरस संक्रमणका कारण यसपालि अमेरिकाको चुनाव पनि प्रभावित बन्न पुग्यो। यसभन्दा अगाडीको चुनावमा जो मतदाता चुनावको दिन मतदान केन्द्र पुगेर भोट गर्थे, यसपालि उनीहरूले अगाडी नै ‘अर्ली भोट’ गरे। धेरै मतदाताले घर बसेर मेल–इन र पोस्टलबाट मतदान गरे।
गत चुनावमा झरेको कूल भोटिङको ५० प्रतिशत मत यसपालि चुनावभन्दा एक साता अगाडी नै झरिसकेको छ। यो तथ्यांक अझै बढ्ने सम्भावना छ। हालसम्म ६ करोड ९५ लाख मानिसले भोट गरिसकेका छन्। यसपालि राष्ट्रपतिको मैदानमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो वाइडेन छन्। ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा उत्रिन लागेका हुन भने वाइडेन बाराक ओबामाको कार्यकालमा उप–राष्ट्रपति थिए।
यसरी हुन्छ अमेरिकी चुनाव
३ नोभेम्बर २०२० अमेरिकाको राष्ट्रपतीय चुनावको अन्तिम दिन हो। अमेरिकामा राष्ट्रपति चुनाव जहिले पनि नोभेम्बर महिनाको पहिलो मंगलबार हुनेगर्छ। नेपालमा जस्तै अमेरिकामा चुनावको दिन मात्र भोटिङ हुने होइन। मतदानको दिन तोकिनु भनेको अन्तिम दिन हो। अमेरिकामा अगाडी नै चुनाव सुरु भइसकेको हुन्छ। अमेरिकामा भएका ५० राज्यमध्ये ३८ मा अर्ली भोटको सुविधा छ। अर्थात यदी कसैलाई चुनावको दिन भोट हाल्ने समय छैन भने मतदाताले आवेदन दिएर अर्ली भोट गर्न सक्छन्। ई–मेलबाट पनि भोटिङ गर्ने सुविधा छ। पोस्टल ब्यालेटको सुविधा पनि छ।
कोरोनाका कारण यसपालि ७ करोडको हाराहारीमा मतदाताले अर्ली भोटिङको सुविधा लिइसकेका छन्। केही राज्यले १५ अक्टुबरदेखि नै भोट हाल्ने सुविधा दिएका थिए। गत चुनावमा ५ करोड ८० लाख मानिसले अर्ली भोट गरेका थिए।
भोटको गणना
अमेरिकामा मतदान सकिएलगत्तै गणना सुरु भइसक्छ। गत चुनावमा मतदान सकिएको भोलिपल्ट बिहान नै नतिजा सार्वजनिक भइसकेको थियो। यसपालि गणनामा केही नयाँपन छ। केही राज्यले पोस्टल ब्यालेट १३ नोभेम्बरसम्म पठाउँदा हुने कानुनलाई संसोधन गरेको छ। यसैले यसपालि निर्णय आउन एक–दुई दिन ढिलो पनि हुनसक्छ।
अमेरिकामा मतदाताले सिधै राष्ट्रपति छान्ने चलन छैन। मतदाताले आफ्नो प्रतिनिधि छान्ने गर्छन, जसलाई इलेक्टर भन्ने गरिन्छ। कुन राज्यमा कति इलेक्टर हुन्छ, त्यो राज्यको जनसंख्याले निर्धारण गर्नेगर्छ। क्यालिफोर्नियामा मात्र सबैभन्दा बढी ५५ इलेक्टर छन्। अमेरिकामा कूल ५३८ इलेक्टर छन्, जसले आफ्नो क्षेत्रका मतदाताको प्रतिनिधित्व गर्ने गर्छन। यही इलेक्टरहरू मिलेर पछि राष्ट्रपति छान्ने गर्छन।
मतदाताहरूले लोकप्रिय भोट पनि दिने गर्छन। यसको अर्थ उनीहरूले आफूलाई मनपर्ने नेता छान्नु हो। जुन राज्यमा, जसले लोकप्रिय मत पाउँछन्, उसैले सबै इलेक्टर सिट जित्ने गर्छ। तर, केही राज्यमा यस्तो अवस्था छैन। ती राज्यमा छुट्टै इलेक्टर हुनसक्छ।
गत चुनावमा लोकप्रिय मत हिलारी क्लिन्टनले जितेपनि इलेक्टोरल कलेज भोटमा ट्रम्पसँग पराजित भएकी थिइन। अमेरिकी इतिहासमा पाँच पल्ट यस्तो घटना भएको छ।
दोस्रो प्रमुख चुनावको मिति १० नोभेम्बर
लोकप्रिय मतको विश्लेषण हुँदा नै सबैलाई लगभग थाहा भइसकेको हुन्छ कि, अमेरिकामा को राष्ट्रपति बन्दैछन्। तर, चुनावी प्रक्रियामा ‘सर्टिफिकेशन’ निकै महत्वपूर्ण हुनेगर्छ। यो औपचारिक सरकारी प्रक्रिया हो। १० नोभेम्बरमा भिन्न राज्यको भोटिङपछिको अवस्थाले इलेक्टरको ‘सर्टिफाई’ गर्ने प्रक्रिया सुरु हुन्छ। यदी केही विवाद उत्पन्न भयो भने पुनः मतगणनाको स्थिति आउन सक्छ। यसपालि विभिन्न दिनमा ‘सर्टिफिकेशन’ को काम सुरु हुँदैछ।
तेस्रो प्रमुख दिन–८ डिसेम्बर
औपचारिक सरकारी प्रक्रिया सुरु हुने दिन हो यो। क्यालिफोर्नियालाई छोडेर सबै राज्यको नतिजा ‘सर्टिफाई’ भइसकेको हुन्छ। अर्थात ८ डिसेम्बरसम्म इलेक्टर्सको स्थिति स्पष्ट भइसकेको हुन्छ। ५० वटै राज्यमा ५३८ इलेक्टर तय भइसकेका हुन्छन्।
चौथो मुख्य दिन–१४ डिसेम्बर
अमेरिकाको ५० वटा राज्यको राजधानीमा ५३८ इलेक्टरले आ–आफ्नो भोट हाल्ने छन्। केही राज्यका लागि यो औपचारिकतामा मात्र सिमित हुनेछ। किनभने उनीहरूले आफ्नो इच्छाले अरुलाई भोट हाल्न सक्दैनन। अमेरिकी संविधान अनुसार इलेक्टरले लोकप्रिय भोटर्सलाई नै पछ्याउनुपर्ने बाध्यता छैन तर धेरै राज्यले कानुनी रूपमा यस्तो गर्नु जरुरी छ।
२०२० को जुलाईमा अमेरिकाको सर्वोच्च अदालतले स्पष्ट पारेको थियो– जुन राज्यमा पहिलेदेखि कानुन लागु छ, त्यहाँ इलेक्टर्सले लोकप्रिय भोटलाई पछ्याउनु पर्नेछ। अर्थात, जसलाई जनताले छनोट गर्छन, उसैलाई मत दिनु पर्नेछ।
पाँचौ तथा मुख्य दिन–६ जनवरी २०२१
सबै राज्यको राजधानीबाट इलेक्टरको भोट वासिङ्टन पुग्ने गर्छ। उप–राष्ट्रपतिको अगाडी कांग्रेसमै इलेक्टर्सको मत गणना हुनेछ। यद्धपि यो पनि औपचारिकता पुरा गर्नलाई हो। यसपछि मात्र औपचारिक रूपमा राष्ट्रपतिको नामको घोषणा हुनेगर्छ। कहिले काहिँ केही इलेक्टरले मतदाताको इच्छा विपरित भोट दिने चलन पनि छ। तर, धेरै राज्यले कानुन पास गरिसकेको अवस्थामा यस्तो गर्नु त्यति सम्भव छैन।
छैटौं विशेष दिन–२० जनवरी २०२१
अमेरिकामा नयाँ राष्ट्रपतिले कहिले सपथ ग्रहण गर्ने त्यो पहिले नै तय छ। अमेरिकाको संविधानले २० जनवरीमा नयाँ राष्ट्रपतिले सपथ लिने दिन तोकेको छ। यसलाई ‘इनोगरेसन–डे’ पनि भनिन्छ।