२०४८ सालको चैत महिना जननेता स्वर्गीय मदन भण्डारी दार्चुलाको खुलामञ्चमा भाषण गर्न आउने हल्लाले नेपालमा मात्र होइन, भारतमा पनि खैलाबैला मच्चियो।
मदनको भाषण सुन्न त्यतिबेला हजारौंको संख्यामा मानिसहरू खलङ्गा बजारमा ओर्लिएका थिए। सुदूरपश्चिमको अन्य जिल्लाको भ्रमण सकेर ३० गते विष्णु पौडेल र प्रेमसिंह धामीसँगै दार्चुलाको खलङ्गामा आइपुगेका मदनसामु वीरबहादुर ठगुन्नाले कालापानीको समस्या जोडदार रूपमा उठाए।
यही समय उनले कालापानी क्षेत्रको नापी शाखासँग सुरक्षित नक्सा नेकपा एमालेका तत्कालीन महासचिव मदनलाई बुझाउँदै यो मुद्धा संसदमा उठाउन आग्रह गरेका थिए।
उनले त्यतिबेला आफूले कालापानी क्षेत्रको स्थलगत भ्रमण गर्ने मौका नपाएको र वास्तविकता के हो? त्यो पनि थाहा नभएको बताएपछि मदनले सीमा विवाद जस्तो गहन विषय हल्कारूपमा उठाउँदा राम्रो म्यासेज नजाने भन्दै उनलाई स्थलगत भ्रमणगरी प्रतिवेदन काठमाडौंमा बुझाउन निर्देशन दिएका थिए।
२०४९ सालको स्थानीय निर्वाचनमा जिविस सदस्य निर्वाचित भएपछि ठगुन्नाले कालापानी क्षेत्रको स्थलगत भ्रमण गरेर नक्सासहित यथार्थ विवरण ल्याएका थिए।
लिपुलेक, कालापानी तथा लिम्पियाधुराको मुद्धालाई नेपालको संसदमा जोडदार रूपमा प्रवेश गराउने श्रेय पाएका उनै ठगुन्नाको गत मंगलबार निधन भयो। उनको निधनले अहिले दार्चुला स्तब्ध छ भने देशभक्त नेपालीहरू दुःखी भएका छन्।
जीवनमा पद र पावरलाई खासै महत्व नदिएका तर सादा जीवन बिताउन रूचाउने उनै ठगुन्नासँग कालापानीको विषयलाई लिएर थुप्रै तथ्य जोडिएको छ। २०४९ सालमा कालापानी क्षेत्रको स्थलगत भ्रमण गरेर त्यहाँको नक्सा र कानुनी दस्तावेज काठमाडौं ल्याउने क्रममा उनले भारतीय प्रहरीको थुप्रै अमानवीय व्यवहारसँग साक्षात्कार हुनुपरेको थियो।
त्यतिबेला दार्चुलाबाट सिधै काठमाडौं आउने बाटो थिएन। त्यसैले सबैले भारतको धार्चुला हुँदै आउनुपथ्र्यो। काठमाडौं आउनेक्रममा उनले स्थलगत रिपोर्ट, नक्सा र कानुनी दस्तावेज पुरानो एक्सरे सिटभित्र लुकाएर ल्याउन लागेका थिए। तर, भारतमा उनी बसेको होटलमा राती ९ बजे प्रहरीले छापा हानेर उनको सुटकेशको छानवीन गरेको थियो।
भारतीय इन्स्पेक्टरको नेतृत्वमा आएको टिमले जबरदस्ती कोठामा प्रवेश गरेर दस्तावेज लिएर गएको थियो। यतिबेला उनले विरोध गरेका थिए। भारतीय प्रहरीलाई सर्च वारेन्ट देखाउन आग्रह गर्दा पनि उनीहरूले जबरदस्ती गरेका थिए।
ठगुन्नासँग मेरो सँगत पुरानो हो। काठमाडौंमा हुँदा उनलाई मैले तीनकुनेमा डेरा खोज्न सहयोग पनि गरेको थिए। नियमित जस्तो सम्पर्कमा उनी भन्थे, ‘भारतीय प्रहरीले सुटकेशबाट नक्साको कपी निकालेर मलाई यो के हो भनेर सोध्यो। किन बोकेको भन्यो। नोटिफाइड एरियाको नक्सा बोक्नु गैरकानुनी भएको हुनाले आफूसँग प्रहरी चौकीमा जान जवरदस्ती गरेका थिए। तर, मैले मानिन। आफ्नो जिल्लाको नक्सा बोक्न कुन कानुनले रोक्छ? भनेर उल्टै विवाद गरे।’
यो घटनामा उनलाई करिब तीन घण्टा नजरबन्दमा राखिएको थियो। तरपछि भर्पाई लिएर उक्त नक्सा फिर्ता गरियो। यो घटनालाई उनी राष्ट्रियता तथा आन्तरिक सुरक्षामाथिको खतरा भन्थे। योभन्दा पनि रोचक कुरा उनी काठमाडौंमा भएको सुनाउँथे।
चार दिन लगाएर काठमाडौं आइपुगेका ठगुन्ना माउन्ट भ्याली भ्यू होटलमा बसेका थिए। बिहान उनी बाथरूमबाट फर्किदा सुटकेशको ताला तोडेर कालापानीसम्बन्धि लेख र नक्सा गायब पारिएको थियो।
उनले साथीहरूको सुझावमा बेलुका पुनः नक्सा र विवरण तयार पारेका थिए र २०५३ साल असोज २४ गते नेकपा एमाले पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।
सत्ता र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डता र सार्वभौमिकताका लागि सबैजना एकजुट हुनुपर्ने विचार राख्ने एउटा नेताको निधन भएको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको दस्तावेज तयार पार्दाताका उनले पाएका अनेक हन्डरको कुरा सम्झदा मुटु फुलेर आउँछ। कालापानीको दस्तावेज तयार पार्ने दार्चुलाका तत्कालिन नेकपा एमालेका संस्थापक नेता ठगुन्नासँग सुन्धारास्थित महेन्द्रनगर टिकट काउन्टर अगाडी ६ वर्षअघि भेट हुँदा उनी आफूलाई डेरा चाहिएको बताउँदै थिए।
मैले उनलाई तीनकुनेस्थित गैरीगाउँ, जहाँ म पनि बस्छु, त्यहा एउटा कोठा खोजिदिएको थिए। जसपछि उनीसँग मेरो भेट झाँगियो। एकदिन साँझ उनको कोठामा भेटघाट हुँदा उनी भन्दैथिए, ‘बिस २०४४–४५ सालताका बझाङ जिल्लाको महादेव मावी अठपालिमा प्रधानाध्यापक थिए।’ ठगुन्ना इश्वर पोखरेल लगायतका नेतासँग भेट भएपछि कम्युनिस्ट राजनीतिमा सक्रिय भए।
स्कुलको प्रधानाध्यापक हुँदा उनको पारिवारिक जीवन राम्रै चलेको थियो। देशमा पंचायती शासनको अन्त्यका लागि नेपाली कांग्रेस र नेपाली कम्युनिस्टहरू भूमिगत रुपमा गहन छलफल गरिरहेको बेला उनी राजनीतिमा मोडिए।
भूमिगत राजनीतिमा सक्रिय हुँदा शिक्षकको तलबले घर चल्न गाह्रो भयो। त्यतिबेला महिनापिच्छे बैठक हुन्थ्यो। भूमिगत बैठकमा भाग लिन बझाङबाट धनगढी झर्दा पैसाको अभावमा उनले श्रीमतीको सुनको गहना कैचीले सानो–सानो टुक्रा पार्दै बेचेको कथा सुनाउँथे।
२०४६ सालमा प्रजातन्त्र स्थापना भयो। कम्युनिस्ट नेता इश्वर पोखरेलले शिक्षण पेसा छोडेर राजनीतिमा आउन गरेको आवहानलाई उनले सहर्ष स्वीकारे। पोखरेलकै दबाबमा उनले गृह जिल्ला दार्चुलामा नेकपा एमालेको संगठन विस्तार गर्न ठूलो योगदान गरे। उनी दार्चुलामा नेकपा एमालेका संस्थापक सचिव पनि हुन। २०४९ सालमा जिविस उपसभापति पनि नियुक्त भए।
२०३२ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएका ठगुन्नाले जीवनभर निष्ठाको राजनीति मात्र गरे। समकालीन नेताहरू मन्त्री र राज्यको उच्च तहमा पुगे। तर, उनले कहिल्यै पदको लोभ गरेनन्।
राजनीतिमा लागेर सबै गुमाएका ठगुन्ना पछिल्लो समय लिपुलेकसहितको राजनीतिक नक्सा प्रकासित भएपछि दंग थिए। उनी आफ्नो अभियानले मूर्तरूप पाएकोमा प्रफुल्ल थिए। केही वर्षदेखि क्यान्सर रोगबाट थलिएका ठगुन्ना लिपुलेक, कालापानी र लिम्पियाधुराको कुरा आउँदा उही युवा जोसमा देखिन्थे।