टीकाराम भट्टराई
नेपालका दुई प्रमुख दलहरु (नेकपा र कांग्रेस) आमरुपमा समान प्रकृतिका समस्याबाट प्रताडीत भइरहेका छन् : विचारशुन्यता, गुटबन्दी र ध्वस्त पार्टी जीवन ।
यो प्रताडनाको परिणाम पनि एकै प्रकृतिको छ : न रुपान्तरण, न सञ्चालन ।
यो प्रशव वेदनाले राजनीतिप्रति युवा आकर्षण घटेको मात्र होइन, यो घटाइको मात्रा अब क्रमशः घृणा र आक्रोशमा परिणत हुँदैछ । लाखौं युवाहरुको राजनीतिक भविश्य समाप्त पारिँदैछ र त्यसको प्रत्यक्ष असर मुलुककै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा परिरहेको छ । गणतन्त्र, संघीयता र बहुदलीय प्रतिस्पर्धासहितको नेपालको संविधान निश्क्रिय र निश्प्रभावी हुँदैछ ।
यस्तो अवस्थामा के यिनको विकल्प छैन त ?
दुईदलीय घेराभन्दा बाहिरको परिदृश्य कल्पना गर्ने हो भनेे नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका, हैसियत, इतिहास, त्याग र विश्वसनियता अनि प्रभाव भएका अन्य कुनै दल नभएकाले यी दुई दलको तत्काल विकल्प देखिँदैन । त्यसर्थ, यी दलमा आमूल रुपान्तरणबाहेक मुलुकलाई सही दिशावोध गर्ने अर्को कुनै हतियार पनि नागरिकसँग छैन ।
राजतन्त्र, हिन्दु राज्य वा एकीकृत राज्य प्रणाली नेपाली जनताले परित्याग गरेका र काम नलाग्ने प्रमाणित भइसकेका भुत्ते हतियार मात्र हुन् । संघीय लोकतन्त्रको विकल्प यसैको सुदृढीकरण र रुपान्तरण नै हो । अब प्रतिगमन न सम्भव छ, न उपयुक्त नै ।
प्रमुख दुई दल (सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस) को अर्कमण्यताका कारणले परिवर्तन र रुपान्तरणको गाडी टक्क रोकिएको अनुभूति भएको छ । तर, आज यो लेखमा केवल नेकपाको शक्ति संघर्षका बारेमा मात्र चर्चा गरिने छ ।