एउटा जात्रा भए पो ‘उत्सव’ भन्नु, दसैं त बुंगमतीका लागि ‘महाउत्सव’ नै हो।
हुन पनि एकथोक हुन्छ र!
मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।
भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकुशेमा अल्झाउँदै उनलाई दोलखा हुत्याइदिन्छन्।
कुनै समय बुंगमतीमा हमला गरी हयंग्रिभ भैरवको मूर्ति चोरेर लगेका पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको क्षमापूजा यही बेला हुन्छ। काठमाडौं उपत्यकाका एक प्राचीन व्यापारी ‘सिंह सार्थवाह’ आफ्नो सेतो वायुपंखी घोडा चढेर यही बेला बुंगमती परिक्रमा गर्न आउँछन्।
अनि यही बेला नगरको तीन दिशामा रहेका ‘बोङ्गा’ अर्थात् कुवामा पूजा हुन्छ। यही बोङ्गाबाट बुंगमती नाउँ मात्र रहेन, यसले काठमाडौं उपत्यका र यहाँका आदिवासी नेवारहरूको इतिहासलाई किराँतकालसँग पनि जोड्छ।
यी त केही झलक मात्र हुन्। बुंगमतीको दसैं यस्ता अनेकौं उत्सवले जात्रामय हुन्छ। यसपालि कोरोना कहरले भीड पातलो थियो, तर धेरै जात्रा नियमअनुसारै मनाइए।
जेरीजस्तै जेलिएका यी जात्राको आफ्नै इतिहास छ, आफ्नै कथा, आफ्नै किम्बदन्ती। आज म तपाईंहरूलाई पाटनको जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने प्राचीन नगर बुंगमतीको महाउत्सव यात्रामा लैजाँदैछु।