तपाईंको दसैं नरमाइलो हुनुपर्ने कुनै कारण छैन।
तपाईं त्यसै त बिन्दास प्राणी हो। कुनै विषयलाई आफ्नोपनको बुझाइमा ढाल्ने, त्यसलाई विज्ञानको अलौकिक आविष्कारबराबरको मौलिकता दिएर प्रस्तुत गर्ने, त्यसैलाई अझ हास्यरसको अभिषेकबाट सुगन्धित तुल्याउने अपूर्व कला तपाईंको ‘तेजतर्रार’ वृत्तिसँग निःसृत छ। तपाईंको हथौडी नै यही हो। र, यसैबाट गरिखानु भएकै पनि हो।
यस्ता मनुवालाई सधैं दसैैं।
के जाति के–के गर्नुभो, कति वर्ष जेल पर्नुभो, दुःख पाउनुसम्म पाउनुभो, स्वास्थ्यले पनि तपाईंलाई नै दिनुसम्म दुःख दियो। तर, ती सारा चिजले पनि तपाईंलाई हराउन सकेनन्। यो देशको दुईपटक प्रधानमन्त्री भइसक्नुभो।
तपाईंको बाल्यकाल कति कष्टसाध्य थियो भन्ने पनि यदाकदा सुन्न पाइन्छ। तपाईंले औपचारिक शिक्षालाई चाँडै नै तिलाञ्जली दिनुपरेको पनि एउटा सहानुभूतिजन्य किस्सा हो।
यावत् खिलाफ तपाईंको आत्मबल, फुर्ति, स्वअध्ययन–सबका सब एकसेएक अनुकरणीय पक्ष हुन्।
यस्तो मान्छेका लागि खासमा जीवनका बाँकी हरेक दिन दसैं वा सोसरह हो।
...
तर, प्रधानमन्त्रीज्यू, माथिका १ सय ३२ शब्द तपाईंको स्तुतिका लागि लेख–आरम्भमै हवन गरिएका होइनन्। मात्र स्मरण गराइएको हो।
वास्तवमा अहिले लाग्दैछ, तपाईं आफ्नो बलियो पक्षबाट लाखौं प्रकाश–वर्ष टाढा भइसक्नुभयो। र, आसुरी भामरीमा परेर एउटा ‘ब्ल्याकहोल’ मा छिर्दैछ तपाईंको राजनीतिक विरासत। तपाईंसँग अब बाँकी भनेका करिब–करिब यिनै हुन्– हठ, उदासिनता, लोभ, भेद र विनाश शक्ति। यी घातक अवगुण मुखेन चानचुन दुई वर्षको कार्यावधिमा तपाईंले नेपाली जनतालाई कस्तो दुर्भिक्षमा जाक्नुहोला भनेर भनिहाल्न गाह्रै छ।