दशैंको टीकाको दिन विद्या थापाको ड्युटी परेको थियो। उनी पाटन अस्पतालको आइसोलेसन वार्डमा काम गर्छिन्। सरसफाइ गर्नु उनको जिम्मेवारी।
टीकाको भोलिपल्ट उनकी छोरीको ड्युटी पर्यो। छोरी निरु पनि पाटन अस्पतालमै काम गर्छिन्। उनी नर्स हुन्। त्यही दिन विद्याका छोरा बुलन्दको पनि ड्युटी पर्यो। उनी चाहिं नेसनल अस्पतालमा ल्याब टेक्निसियन हुन्।
यसरी विद्याको परिवारको दशैं साइतमा आएन। घरका सबै एकसाथ बसेर टीका लगाउन पाएनन्। मिठो मसिनो पकाउने, खाने र रमाउने परको कुरा।
छरछिमेक, आफन्तले सोधे – दशैंको बेला पनि छुट्टी नपाइने कस्तो काम हो यो?
प्रश्न गर्नेलाई थाहा हुँदैन थियो भने उनी ठूलो आवाजमा जवाफ फर्काउथिन् – अस्पताल सफा गर्ने काम हो। बिरामीलाई सुग्घर वातावरण दिने। फोहोर व्यवस्थापन गर्ने। भूईं पुछ्ने काम हो।
तर, सबैलाई थाहा छ विद्या के काम गर्छिन्। उनीहरूलाई यो पनि थाहा छ – हातमा कुचो र कोलिन बोकेर दैनिक १२ घण्टा विद्या जसरी खट्न जो कोहीले आँट्दैनन्।
छोराछोरी पनि मेडिकल क्षेत्रमै भएकाले परिवारलाई भने जवाफ दिइराख्नु पर्दैन। सबैले स्वीकारी सकेका छन् – अस्पतालको काम नै यस्तै हो।
कोरोना भाइरस संक्रमण फैलिए यता सायदै कुनै पर्व होला जसमा आमा, छोरी र छोराले सँगै बसेर खाना खाए। उनीहरूले एकअर्काको भूमिका र जिम्मेवारीलाई बुझेका छन्।