बेलायतमा २२०० डाक्टरद्धारा प्रधानमन्त्रीलाई खुला पत्र– ४० लाख गरिब बालबालिकालाई निःशुल्क भोजनको व्यवस्था गर

कोरोना भाइरसका कारण विश्वका अर्थतन्त्र ‘लकडाउन’ को अवस्थामा रहेको बेला बेलायतका २२ सय डाक्टरले प्रधानमन्त्री बोरिस जोन्सनलाई एउटा पत्र लेखेका छन् र उनीहरूले देशमा रहेका गरिब केटाकेटीलाई निःशुल्क खानाको व्यवस्था गर्न माग गरेका छन्। 

‘रोयल कलेज अफ पीडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ’ मा कार्यरत २२ सय डाक्टरले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भनेका छन्, ‘बेलायतमा धेरैजसो स्कुल सोमबारदेखि छुट्टि भएको छ। यसको कारण करिब ४० लाख बालबालिकाले पोषिलो खाना खान पाउँदैनन्। किनभने उनीहरू स्कुलको खानामै निर्भर थिए।’ 

पत्रमा भनिएको छ, महामारी र अन्य कारणले अहिले हजारौं परिवार बेरोजगार भएका छन्। थुप्रै परिवारले आर्थिक दूरावस्थासँग जुध्नु परेको छ। जुन परिवारले पहिले खर्च राम्रोसँग गर्न सक्थे, अहिले घण्टाको हिसाबले काम गरेर परिवार पाल्नु परिरहेको छ। यस कारण उनीहरूको बालबालिकाले त्यसै छुट्टिमा पठाउनु उचित हुदैन। हाम्रो आग्रह छ, सरकारले कि ती गरिब परिवारका बालबालिकाका लागि पोषणयुक्त खानेकुराको व्यवस्था गरोस् वा स्कुल बन्द गर्ने निर्णयलाई फिर्ता लिओस्।’

डाक्टरहरूले प्रधानमन्त्रीलाई लेखेको खुला पत्रमा म्यानचेस्टर युनाइटेडका फुटबलर मार्कस रेसफोर्डको कार्यको खुलेर प्रसंसा गरेका छन्। उनीहरूले लेखेका छन्, ‘बाल गरिबीविरूद्ध रेसफोर्डको पहल सह्रानीय छ। उनी गरिब बालबालिकालाई निःशुल्क खाना वितरण गरिरहेका छन्।’ रेसफोर्डको यो कार्यमा धेरै डाक्टरले सहयोग पनि गरेका छन्।

एक रिपोर्टअनुसार गत साता बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा यो मुद्धा प्रवेश गरेको थियो। तर, सदनले अक्टुबरको इस्टर महिनाको छुट्टिमा बालबालिकालाई निःशुल्क भोजन उपलब्ध गराउने कानुनलाई खारेज गरेको थियो। 

म्यानचेस्टरका २२ वर्षीय स्ट्राइकर रेसफोर्डले आफ्नै पहलमा एउटा अभियान सञ्चालन गरेका छन्। यो अभियानको नाम उनले ‘कुनै पनि बालबालिका भोको नरहोस्’ भन्ने राखेका छन्। उनले पनि जुनमा बेलायतको संसदलाई पत्र लेखेका थिए। उनको माग थियो, ‘सरकारी स्कुलमा पढ्ने गरिब बालबालिकाको खाना सरकारले निःशुल्क उपलब्ध गराओस्।’

तर, रेसफोर्डको आग्रहलाई संसदले अस्विकार गरेको थियो। यसपछि रेसफोर्डले अनलाईन आवेदन दर्ता गराएका थिए। जसमा सोमबारसम्म ९ लाख मानिसले हस्ताक्षर गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-10-27 19:30:00

प्रतिकृया दिनुहोस्