सुशान्तको हत्यामा आदित्य ठाकरेको हातः पूर्व मुख्यमन्त्री राणे

चार महिनादेखि अनुसन्धानको विषय बनेको अभिनेता सुशान्त सिंह राजपूतको मुद्धामा महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेका छोरा आदित्य संलग्न रहेको महाराष्ट्रका पूर्व मुख्यमन्त्री नारायण राणेले आरोप लगाएका छन्। 

उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्दव सरकार आफ्नो छोरालाई बचाउन सक्रिय रहेको आरोप लगाए।  उनले आफूसँग सबै प्रमाण भएको र त्यो प्रमाण आफूले केन्द्रिय जाँच एजेन्सी (सीबीआई) लाई सुम्पिने बताए।
 
सुशान्तको मृत शरीर १४ जुनमा अप्रत्यासित रूपमा उनको फ्लाटमा भेटिएको थियो। मुम्बई पुलिसले शंकास्पद अवस्थामा भेटिएको उनको शरीरलाई एक घण्टा भित्रै डिप्रेसनका कारण आत्महत्या गरेको बयान दिएको थियो।

यसविरूद्ध भारत मात्र नभई विदेशमा बसोबास गर्ने भारतीयहरूले आवाज उठाएपछि सर्वोच्च अदालतले सीबीआई जाँचको लागि आदेश दिएको थियो। 

सीबीआईको जाँचको रिपोर्ट आउन बाँकी रहेको अवस्थामा मुख्यमन्त्री उद्दव ठाकरेले गत आइतबार दशहराको एउटा ¥यालीमा आफ्नो छोरा निर्दोष रहेको बताएका थिए। 

उनको यही भनाईको खण्डन गर्दै भारतीय जनता पार्टीका सांसद तथा पूर्व मुख्यमन्त्री राणेले भने, ‘सुशान्तले आत्महत्या गरेका थिएनन्। उनको हत्या भएको थियो। 

उनको हत्या हुँदा घरमा एक मन्त्री पनि उपस्थित थियो।’ उनले आफूसँग प्रमाण भएको बताए। सुशान्तको निधन हुनुभन्दा पाँच दिनअघि उनको मेनेजर दिशा सालियानको पनि संदिग्घ अवस्थामा निधन भएको थियो। 

मुम्बई प्रहरीले उनलाई पनि डिप्रेसनका कारण १४ तल माथिबाट हाम्फालेर आत्महत्या गरेको बताएको थियो। तर, पोस्टमर्टम रिपोर्टमा उनको शरीरको कुनै पनि हड्डी नटुटेको देखिएको थियो। 

दिशाको निधनपछि सुशान्त विचलित भएको उनका थुप्रै साथीहरूले बताउँदै आएका छन्। 

राणेले भने, ‘घटना भएको राती केही मानिस सुशान्तको घरमा प्रवेश गरेका थिए। उनीहरूले सुशान्तसँग दिशाको निधनको बारेमा सोधेको र यही उनीहरूको झगडा हुँदा सुशान्तलाई पनि मारेका थिए।’

पूर्व मुख्यमन्त्री राणेभन्दा पहिले उनका छोरा तथा बिजेपीकै सांसद नितेश राणेले पनि महाराष्ट्र र मुम्बई प्रहरीको विषयमा प्रश्न उठाएका थिए। 

सुशान्तलाई पंखामा झुन्डिएर मरेको दावी प्रहरीले गरेपनि अहिलेसम्म झुन्डिएको फोटो सार्वजनिक भएको छैन।

प्रकाशित मिति: : 2020-10-27 14:21:00

प्रतिकृया दिनुहोस्