संस्मरण
मेरो बाल्यकाल अध्याधिक अभावमा बित्यो। बाबा रक्स्याहा। रक्सीले गर्दा मुटु फुटाएर बित्नु भयो। घरलाई ऋण बोकाएर बाबा बित्नु हुँदा म चार वर्षको थिएँ।
आमाले दुःख गरेर मलाई धेरै पढोस् भनेर क्यानटोनमेन बोर्ड प्राइमरी स्कुल, सिलोङमा भर्ती गरिदिनु भयो। म यो स्कुलमा पढ्दा फिस लाग्दैन थियो। म क्लास ‘ए’ मा पढ्दा आमाले दिदीको बिहे गरिदिनुभयो दु़ःख गरेर।
त्यतिबेला दाज्यू पनि बिहेमा आउनुभयो। असमबाट दाज्यू असम पुलिसमा सिग्नल ओपरेटरको रूपमा नोकरी गर्नुभएकोले जहिले पनि पोष्टिङ भइरहनु पर्थ्यो। कताकता शिलोङमा बस्नै नपाउने नयाँ नोकरी यसैकारण दाज्यूले आमालाई रुपैयाँ पैसाको त्यति सघाउँ पुऱ्याउन सक्नु हुँदैनथ्यो। पुलिस नोकरी राम्रो नलागेर छाडिदिनु भयो।
घरमा झन् अभाव भयो। संयोगले दाज्यूले तिब्बतको यातुङमा नोकरी पाउनुभयो। त्यसबेला सिक्किमको नथुलाबाट यातुंङ खच्चरमा जानुपर्थ्यो। यातुङ पुग्नै एक महिनाजति लाग्थ्यो।
उहाँ यातुङ जानु भएपछि घरमा आमालाई झन् कठिन आइलाग्यो। रुपैयाँ–पैसाको अभावमा बाबाको सुबेदार पेन्सन लेखापढी गरिदिने मान्छे नभएर पेन्सन पाउनबाट पनि वञ्चित हुनु परेको थियो।
दाज्यूले मेमो गरेको रुपैयाँ आउन ६ महिना लाग्थ्यो। यसैकारण आमाले मेरो पढाई अनि जीवनोपार्जनका लागि रक्सी पार्नै पन्था लिनुभयो। आमा पढेलेखेकी महिला हुनुभएकी भए अर्कै पन्था लिनुहुन्थ्यो कि? उहाँ एकदमै अपढ। दाज्यूले पठाउनुभएको मेमोको पैसा आउँदा बूढी औँलाको छाप लाएर लिनुहुन्थ्यो।
हाम्रो स्कूले जमानामा फाउण्टेन पेन चलाउन पाउँदैनथ्यो। निब जोडिएको होल्डर पेन चलाउनु पर्थ्यो। बनि–बनाई मसी किन्न नसक्ने विद्यार्थीले घरमै बनाएको मसी चलाउँथे। मसी बनाउने गोली़ अर्थात टिकिया पाइन्थ्यो सस्तो दाममा। अनि यो टिकिया उबालिएको तातो पानीमा हालेपछि घोलिएर मसी बन्थ्यो। मैलै यहि खाले मसी चलाएर ६ क्लास पास गरेको हुँ।
सन् १९५९ मा ५ क्लासमा पुगेपछि आमा केही थोक किन्न भनेर शिलोङको बडाबजार जानु भयो। बडाबजारमा एउटा गल्ली यस्तो पनि छ,जहाँ सबै पसल बंगाली समुदायका छन्। यी पसलमा स्टेशनरीका सबै थोक पाइन्छ (कपी,पेन्सिल,पेन,मसी कपी) सबै। सबै।
एकदिन आमा यही लेनबाट गइरहनु भएको बेला सुलेखा फाउण्टेन पेन किनिदिनुहोस् भनेँ। तर आमाले रूपैयाँ–पैसाको अभावमा उक्त पेन किनिदिनसक्नु भएन, मानौँ मेरी आमाका लागि सुलेखा फाउण्टेन पेनू सुनजडित पार्कर पेन जस्तै थियो।
त्यो समयमा सुलेखा फाउण्टेन पेन अत्यधिक प्रचलनमा थियो। त्यसपछि मेरी आमाले मेरा लागि कहिल्यै अन्य फाउण्टेन पेन पनि किनिदिन सक्नुभएन। कारण त्यसपछि आमा लामो रोगमा पर्नुभयो। अनि सन् १९६१मा उहाँले हामीबाट बिदा लिनुभयो।
हो, म सत्य भन्छु–आमाले मेरो पढाईका लागि रक्सी पार्नुभयो तर म रक्स्साह भइऩँ। यसबाट टाढा छुँ। आमाले मेरा लागि सुलेखा फाउण्टेन पेन किनिदिन सक्नुभएन तर म साहित्यबाट टाढा छैन। आमाबाट मैले सुलेखा फाउण्टेन पेन पाउन नसके तापनि आशीर्वादको पेन त उहाँबाट अदृश्य रूपमा पाइरहेको छुँ। आमाकै आशीर्वाद नै हो म भन्छु–मेरो साँघुरिएको कोठामा साहित्य एकाडेमी पुरस्कारको प्रतिक चिन्ह सजिएको छ।