धेरै दिनदेखि मनमा भय पैदा भइरहेको थियो। सपना पनि त्यस्तै त्यस्तै देखिरहेकी थिएँ। सपनामै बलेको दियो झयाप्प निभ्ने गथ्र्यो।
मेरो बालाई धेरै अगाडी मुटुमा समस्या देखिएको थियो। त्यसैले यस्तै यस्तै सपना देखेको कारणले गर्दा पनि बाको स्वास्थ्यको पीर लागिरहन्थ्यो।
अझै पनि याद छ त्यो दिन, जब पहिलो पटक बालाई हृदयघात भएको थियो। त्यतिखेर बालाई अस्पताल भर्ना गरियो।
अफसोच, बालाई जतिखेर हृदयघात भएर अस्पताल भर्ना गरिएको थियो, त्यतिबेला म स्वंय श्रीमान र सासुको साथमा ससुराको आशोक बारिरहेकी थिएँ।
बालाई अस्पताल भर्ना गरेको थाहा भएपछि मेरो होस ठेगानमा थिएन। ईश्वरले पनि कहिलेकाहिँ कस्तो धर्मसंकटमा पारिदिन्छन्। मेरो दिमागले केही सोच्न सकेन। म बिरामी बालाई भेट्न अस्पताल जाउँ कि ससुरा बाको बर्खीमै बसुँ?
त्यतिखेर मेरो लागि बालाई भेट्न अस्पताल जानु अति जरुरी थियो तर म धोतीलगाएर बर्खिमा बसिरहेकी थिएँ।
बर्खि बारेर बसिरहेकी बुहारीलाई सासुले निस्किन दिने कुनै छाँटकाट थिएन। त्यसैले म बाहना बनाएर घर गएर पाईन्ट लगाएर बल्ल बल्ल मुस्किलले बालाई भेट्न अस्पताल गएँ। किनकी मलाई धोतीमा देखेर मेरो अस्वस्थ्य बाको मनमा अनगिन्ती प्रश्न खेल्न सक्थ्यो।
अस्पताल पुगेर हेर्दा बाको अवस्था टिठ लाग्दो थियो। ससुराको मृत्युले ओभाई नसकेको मेरो आँखा बाको नाजुक अवस्थाले फेरि रसायो। मसँग बाको पनि आँखा रसायो। म सधैँ बाको स्वास्थ्यको कामना गर्दै हिलिङ रुममा जान्थेँ अनि प्रार्थना गर्थें। हिलिङ रुममा गएर प्रार्थना गरेपछि बालाई केहि सञ्चो भए जस्तो हुन्थ्यो। त्यसबेला पनि मैले त्यसैगरी हिलिङ रुममा गएर प्रार्थना गरेँ।
त्यसपछि बाको स्वास्थ्यमा सुधार त हुँदै गयो तर कमजोर हुन थाल्नु भयो। उहाँ शारिरीक रुपमा कमजोर हुँदै गएपनि आत्माबल दह्रो थियो।
उहाँलाई दोश्रोपटक फेरि हृदयघात भयो। दोश्रोपटक हृदयघात भएपछि पहिला एउटा अस्पतालमा लिएर गयौं अनि त्यहाँ उपचार सम्भव नभएपछि अर्को अस्पतालमा पुर्यायौं। अस्पतालमा एम्बुलेन्सबाट निकालेपछि डाक्टरले मलाई बाको जन्ममिति सोधेँ। आत्तिएर बाको जन्ममिति भन्न सकिनँ।
अचम्म! आफ्नो जन्ममिति बाले नै भन्नुभयो। अनि उहाँ त उल्टै हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो, ‘अब मेरो उमेर पनि त धेरै भइसक्यो नि। त्यसैले जे हुन्छ हुन्छ तिमीहरु पिर नगर।’ बाले त्यसो भने पनि भगवानको कृपाले ठिक हुनुभयो।
दोश्रो हृदयघात भएको धेरै बर्षपछि एकाबिहानै मेरो कानमा आएर कसैले भन्यो, ‘तिम्रो बा स्वर्गीय हुनु भयाे नि’ बिहान ५ बजेको थियो होला, जब मेरो कानमा कसैले त्यो आवाज गुन्गुनायो। त्यसै रात मैले सपनामा मेरो दाई र भाईले सेतो लुगा लगाएर बर्खि बसेको पनि देखेकी थिएँ।
सपनाबाट पसिना पसिना भएर उठेपछि मैले मेरो श्रीमान् विपिनलाई मसँग मन्दिर जान अनुरोध गरेँ। त्यसदिन विपिनसँग सधैँ मान्ने गरेको बिजेश्वरी मन्दिर गएँ। त्यो दिन एक घन्टा लगाएर विपिनसँग हिँडेर मन्दिर पुगेकी थिएँ। विपिन मेरो हरेक दुःख र सुखमा मेरो साथ हुन्थ्यो।
मन्दिरमा जब मैले त्यही बसेकी एक महिलालाई पूजा गर्न लगाएँ, उनले मेरो झोलामा हेर्दै भनिन्, ‘दिदि १ सय ५० रुपैंयाँले त अहिले अण्डा पनि आउँदैन अनि तपाई १ सय ५० रुपैंयाले पूजा गर्न खोज्नु हुन्छ?’
उनको कुराले मेरो दिमाग रन्किसकेको थियो। मैले मनमनै सोचेँ, ‘के अब भगवानको पूजाको लागि दिइने दक्षिणा पनि अण्डाको मूल्यसँग तुलाना हुन थाल्यो?’ मैले केही बोल्न सकिनँ।
मेरो मन निभ्न लागेको दियो जस्तो भएको थियो। मन त्यसैत्यसै विचलित भयो। जुन कामको लागि गएकी थिएँ त्यही गर्न बिर्सें। मन्दिरसम्म पुगेर धुप बाल्न बिर्से। मन चसक्क भयो, ‘यो के को लक्षण हो?’
मन्दिरबाट फर्किदा मलाई बाटोमा हिड्दा हिड्दै बेहोस हुँला जस्तै भयो। विपिनको साहराले जसोतसो घरसम्म आएँ।
मन्दिरबाट जब घरमा आएँ बालाई अस्पतालको भेन्टिलेटरमा राखेको खबर आयो। मेरो मन ठेगानमा थिएन। अस्पताल जाने हिम्मत पनि बटुल्न सकिन। फेरि बत्ती लिएर मन्दिर गएँ। मन्दिरमा गएर बत्ती बालेँ। सपनामा सधैं बत्ती निभेको देख्थेँ।
यसपटक विपनामा नै बत्ती निभ्यो। जिन्दगीमा भइपरी आउने सबै दुःखको सामना गर्न म तयार भएँ। त्यसपछि केहि अनिष्ट हुन्छ भन्ने कुरामा विश्वस्त भएँ। त्यसैले मैले आफ्नो मनलाई बलियो राख्ने कोशिश गरेँ। जे कुराको डर थियो, त्यही भयो। दिउँसो ३ बजेर १० मिनेटमा बाको मृत्युको खबर आयो।
बाको स्वास्थ्य अवस्थाले सधैं पिरोलिरहेको मलाई बाको मृत्युपछि रुने पनि फुर्सद भएन। म मौन रहेर अस्पतालमा बालाई राखेको कक्षको बाहिर बसेँ। धेरै पीर परेपछि आँशु पनि ढिक्का बनेर आँखामै अड्किदो रहेछ। मेरो आँखाबाट आँशु बगेन। बालाई पशुपतिमा अन्तिम दाहसंस्कारको लागि लगियो।
त्यसबेला मृत्यु शैयामा लम्पसार परिरहनुभएको बालाई मैले आँखा उठाएर हेर्न सकिनँ। बाको पार्थिव शरिरमा जल चढाउँदा खेरी बल्ल बाको छातीमा टाउको राखेर बेस्सरी रोएँ।
दिदीको बच्चा सानै भएको कारण मैले नै सबै काम गरेँ। मेरो हात काँप्यो। भिनाजुले मलाई त्यहाँबाट बल्ल बल्ल छुटाउनु भयो। जब बाको लुगा गंगामा बगाउने बेला भयो त्यसबेला पण्डितले भन्नुभयो, ‘मृतकको छोरी आउनुपर्यो।’
त्यो सुकुलमा पोको पारिएको लुगा मैले नै बालाई दिएकी थिएँ। कसैको गाईँगुईँ आवाज मेरो कानमा पर्यो, ‘मृतकको लुगा त बुहारीले फाल्न पर्ने तर छोरी किन बोलाईयो?’ सायद मेरो बाको नै त्यो ईच्छा थियो, त्यसैले पंडितको मुखबाट अन्यासै बुहारी छोडेर छोरीको शब्द उच्चारण भयो।
त्यसपछि ममाथि जिम्मेवारी थपिदैँ गयो। म बाको शोकमा डुब्दै गएँ। म जति शोकमा डुबेपनि मेरा आफन्तलाई केही फरक परेको थिएन। काजक्रिया गर्न पनि उनीहरूलाई असह्य भइरहेको थियो। कति फरक हुने रहेछ आफ्नो र अरुमा। कसैले ठिकै भनेका थिए, ‘आफ्नो भनेको आफ्नै हुन्छ।’
बा सरकारी जागिरे हुनुहुन्थ्यो। उहाँ निकै सामान्य हुनुहुन्थ्यो तर उहाँको पहिरन सधैं सुकिला र आइरन गरिएका हुन्थे। उहाँलाई देखेर म सोच्थेँ, ‘के मेरो जीवन पनि उहाँको जस्तै हुन्छ ?’
उहाँको जीवनमा ‘सादा जीवन उच्च विचार’ भन्ने कथन सधैं लागु भइरह्यो। मेरो हरेक दुःख सुखमा उहाँले साथ दिनुभयो। म पनि सानोभन्दा सानो कुरा उहाँसँग गर्थें।
उहाँले मेरो जीवनको कुनै कुरामा कहिल्यै हस्तक्षेप गर्नुभएन। चार जना सन्तान उहाँका लागि सबै बराबर थिए। उहाँले आफ्नो जीवन सानको साथ जिउनुभयो। बाको जीवनबाट मैले धेरै कुरा सिकें।
उहाँ सधैं राम्रो र टक्क परेर हिड्नुहुन्थ्यो। आफ्नो छोराछोरीलाई मन लागेको खानेकुरा जसरी पनि खोजेर ल्याइदिनु हुन्थ्यो। बाको पनि खाने सबैभन्दा ठूलो सौख थियो। उहाँ जहिल्यै पनि भन्नुहुन्थ्यो, ‘खानेकुरा भनेको राजकीय हुनुपर्छ।’ हुन पनि उहाँको थालीमा धेरै प्रकारका व्यञ्जन हुन्थ्यो अनि उहाँ मिठो मानी मानी खानुहुन्थ्यो।
मैले कहिलेकाहिँ चाहिने कुरामा पनि बोल्न नसक्दा उहाँ भन्नुहुन्थ्यो, ‘तिमी मेरी यति धेरै पढेकी छोरी कसैको अगाडि झुक्नु हुदैँन।’
अब मलाई त्यति धेरै माया गर्ने मेरो बा मेरो सामु हुनुहुन्न। कति अचम्मको छ यो संसार जुन बाले मेरो लागि आफ्नो सारा खुशी त्याग्नु भयो, उहाँले नै छोडेर जानु भयो। नियतिको खेल पनि कस्तो? छोडेर जानेसँग सँगै यात्रामा निस्किन पनि नमिल्ने।
यतिखेर म बस् ‘बाको आत्माले शान्ति पाओस्’ बाहेक अरु केही भन्न सक्दिन। ‘बा तपाई जहाँ हुनुहुन्छ खुशी रहनुस्। तपाईको आत्मालाई ठेस पुग्ने म केही काम गर्ने छैन।’ मैले हात जोडेर मनमनै यही प्रण गरेँ।
(यस कथाका घटना तथा पात्रहरु सबै यर्थाथ हुन्।)