‘रअ’का हाकिमसामु राष्ट्रवादको हरिबिजोग

छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ । उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।  

‘सो जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियोे,’ विमानस्थलका ती अधिकारीले भने, ‘आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान आएको छ ।’ 

गुप्तचरका प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । त्यस्तै, उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको वेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए । 

प्रकाशित मिति: : 2020-10-22 03:48:00

प्रतिकृया दिनुहोस्