मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ।
छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन्।
मदिराले लठ्ठ मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ। गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन्।
मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन्।
मदिराका मातमा रहेका मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेको जानकारी प्राप्त भएको छ। अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन्।