तातो सडकपेटीमा कोरोना संक्रमित(भिडियो रिपोर्टसहित)

टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए ।

सागर चन्द

काठमाडाैं

राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । 

ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो । ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । 

 

प्रकाशित मिति: : 2020-10-12 07:59:00

प्रतिकृया दिनुहोस्