रौतहटमा अनलाइन शिक्षा भएन प्रभावकारी, भाेलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय

फाइल तस्वीर

 कोरोना महामारीको कारण लामो समयदेखि बन्दरहेको रौतहटका सामुदायिक विद्यालयहरु यहि असोज २२ गतेदेखि क्रमशः सञ्चालनमा आउने भएका छन्।

जिल्लाको फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतको सबै सामुदायिक विद्यालय भोलि २२ गतेदेखि सञ्चालन गरिने तयारी भइरहेको फतुवा नगर शिक्षा संयोजक बुनिलाल यादवले बिएल नेपालीसेवालाई जानकारी दिए। 

‘मन्त्रालयको निर्देशन अनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा बैकल्पिक शिक्षण विधि अपनाउनु भनेको छ। तर त्यो प्रभावकारी भएन। त्यसैले विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छौं ,‘ नगरपालिकाका शिक्षा संयोजक यादवले भने।

विगतको तुलनामा हाल वातावरण सहज भएपनी कोरोना भाइरसको जोखिम यथावत् रहेकाले सिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार सामुदायिक सिकाई केन्द्रको रुपमा प्रयोग गरिने उनले बताए। 

नगर प्रमुख गोपाल प्रसाद यादवका अनुसार स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरी कायम राखेर स्वास्थ मापदण्ड अनुसार प्रती कक्षा कोठामा २० जना विद्यार्थी राख्ने र मास्क सेनिटाइजर अनिवार्य प्रयोग गरिने छ। 

फतुवाविजयपुर नगरपालिकाका साथै रौतहटको गरुडा नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरु समेत असोज २२ गतेदेखि सञ्चालन हुने सूचना सार्वजनिक गरिएको छ। 

१८ स्थानीय तह मध्ये यसअघि चन्द्रपुर र गौर नगरपालिकामा रहेकोे सबै  सामुदायिक विद्यालय सञ्चालन भैसकेको जिल्ला शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-07 10:42:32

प्रतिकृया दिनुहोस्