संजोग आचार्य
राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमणका कारण थलिन पुगेपछि रिपब्लिकन पार्टीले आफ्नो चुनावी अभियानलाई झन् बढी आक्रामक बनाउने संकेत गरेको छ।
रिपब्लिकन पार्टी धेरै अगाडिदेखि ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात ‘अमेरिकालाई पुनः महान बनाऔं’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको थियो। राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भएपछि यो अभियान के होला भन्ने कौतुहलता उनका समर्थक माझ थियो।
तर, पार्टीले ‘अमेरिकालाई पुनः महान बनाऔं’ भन्ने नारालाई घर–घरमा पुर्याउने प्रतिज्ञा गरेको छ। यसका लागि विगतको तुलनामा चुनावी अभियानलाई झन् बढी आक्रामक बनाउने पार्टीले संकेत गरेको हो।
ट्रम्प अस्वस्थ्य भएपनि रिपब्लिकन पार्टीले आफ्नो चुनावी अभियानलाई स्थगित गरेको छैन। उसले पूर्व तयारी कार्यक्रमलाई निरन्तरता दिएको छ। चुनावको समय नजिकिँदै जाँदा उसले चुनावी अभियानलाई अझ बढी सक्रिय बनाउने सन्देश कार्यकर्तामाझ पुर्याइरहेको छ।
केही चुनावी सर्वेक्षणमा राष्ट्रपति ट्रम्प प्रमुख राज्यमा पछाडि देखिएका छन्। तर, पार्टीले सर्वेक्षणको नतिजालाई खासै महत्व दिएको देखिदैन। अभियान दलका सदस्यहरू यस विषयमा खासै चिन्तित देखिदैनन्।
बरु उनीहरूले आउँदो सातादेखि चुनावी अभियानको स्वरुप परिवर्तन गर्ने छाँट देखाएका छन्। विस्किन्सनको सभालाई हालको लागि स्थगित गरिएको छ। यसको सट्टा चुनावी कोषका लागि पैसा उठाउने अभियान चलाउने योजनामा पार्टी देखिन्छ।
ट्रम्प अस्वस्थ्य भएपछि उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्स चुनावी अभियान दलका सदस्यहरूसँग नियमित सम्पर्कमा छन्। उनी नयाँ योजना तयार पार्न दिनहुँ बैठक गरिरहेका छन्। उनले पार्टीका कार्यकर्तालाई अघिल्लो एक साताका लागि योजना तयार पार्न निर्देशन दिएको विभिन्न सञ्चार माध्यमले बताएको छ।
यसअघि चुनावका लागि पैसा उठाउनेदेखि लिएर इभेन्ट्सको आयोजना गर्ने तथा राजनीतिक वातावरण तयार पार्ने काम ट्रम्पले गर्दै आइरहेका थिए। उनी पनि कोरोनाबाट संक्रमित हुन सक्छन् भन्ने कुरा कसैले सोचेका थिएनन्।
अहिले ट्रम्पको अनुपस्थितिमा पेन्स चुनावी अभियानमा खासै कुनै असर नपरेको देखाउन चाहन्छन्। गत शनिबार कार्यकर्तासँग भएको पहिलो बैठकमा उनले भनेका थिए– अमेरिकालाई पुनः महान बनाउने नारालाई नारामा मात्र सिमित नराखौं। यसलाई लक्ष्यको रूपमा अगाडि बढाऔं।
रिपब्लिकन पार्टीका चुनावी योजनाकार म्याट गोर्मनले हालै दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘मुख्य नेता मैदानबाट बाहिर भएको अवस्थामा पनि हामीसँग अर्को विकल्प बाँकी छैन। हामीले तयार पारेको चुनावी अभियानलाई जनताको बीचमा अझ बढी सशक्तताका साथ प्रस्तुत गर्नुपर्ने छ। हामीले घर पुगेर हुन्छ कि फोनबाट, मतदातालाई मतदान गर्न आग्रह गर्नुपर्ने छ।’ उनले यसका लागि कार्यकर्तालाई आफूले सक्ने जति काम गर्न आग्रह गरेका थिए।
ट्रम्पको अनुपस्थितिमा उनको परिवार एकपछि अर्को गर्दै चुनावी अभियानमा सक्रिय हुन थालेका छन्। यसले कार्यकर्तामा उत्साह थपिएको छ। चुनावी अभियानका उपसंयोजक हाल भर्जिनियामा बसेर काम गरिररहेका छन्।
यस्तै अभियान दलका संयोजक बिल स्टेपियन ‘क्वारेन्टाइन’ मा बसेपनि घरबाटै काम गरिरहेका छन्। उनी अभियान दलका अन्य सदस्यसँग नियमित सम्पर्कमा छन्। ट्रम्प आफैं पनि फोनबाट देशभरि चुनावी अभियानमा खटिएका कार्यकर्तासँग सीधा कुराकानी गरिरहेका छन्।
ट्रम्पका ज्वाई तथा राष्ट्रपतिका उच्च राजनीतिक सल्लाहकार जेयर्ड कुस्नर आफ्नो ससुराको अनुपस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनी चुनावी अभियान दलका सदस्यमा उर्जा थप्न नयाँ योजनासहित प्रस्तुत हुन लागेको अमेरिकी मिडियाले प्रकासित गरेको छ। ट्रम्पका छोरा एरिक र बुहारी लारा पनि चुनावी अभियान दलका सदस्यसँग नियमित सम्पर्कमा छन्।
ट्रम्प एक साताभन्दा छोटो समय मेरील्याण्डस्थित अस्पतालमा भर्ना भएर मंगलबार घर फर्किएका छन्। बुहारी लाराले मुलधारका मिडियामाथि कटाक्ष गर्दै भनेकी छिन्– मुलधारका मिडियाहरू मेरो ससुराको विषयमा डरलाग्दो समाचार प्रकासित गरेर पैसा कमाइरहेका छन्।’उनले न्युज हेरेर नआत्तिन कार्यकर्तालाई आग्रह गरेकी छिन्।
‘उहाँ छिटैं संक्रमणमुक्त भएर तपाईहरू माझ उभिनु हुनेछ,’ लाराले भनेकी छिन्। उनले यसपालि पनि डमोक्रेटिक पार्टीका उम्मेदवारलाई पराजित गर्ने बताएकी छिन्। छोरा एरिकले आफ्नो बुवामा निकै ‘एनर्जी’ भएको बताएका छन्। उनले बुवाको विषयमा पत्रपत्रिकामा आइरहेको समाचारप्रति दुःख व्यक्त गरे। अमेरिकाबाट प्रकासित केही मिडियाले ट्रम्पको स्वास्थ्य थप बिग्रिएको खण्डमा सत्ता परिवर्तन हुने लेख लेखेका थिए।
केही सर्वेक्षणमा वाइडेनभन्दा ट्रम्पलाई निकै तल देखाएको कुरालाई प्रचार–प्रसार विभाग प्रमुख स्टेपियनले हावादारी तर्क भनेका छन्। उनले कसैको पनि स्थिति स्पष्ट नभएको दावी गरेका छन्।
आउँदो बुधबार उपराष्ट्रपतिका दुई उम्मेदवार माइक पेन्स र कमला ह्यारिसबीच डिबेट हुँदैछ।
यसमा रिपब्लिकन पार्टीका उम्मेदवार पेन्सले ‘अमेरिकालाई पुनः महान बनाऔं’ भन्ने नारालाई जोडतोडका साथ प्रस्तुत गर्ने सम्भावना प्रबल छ। यो नारालाई घर–घरमा पुर्याउन रिपब्लिकन पार्टीले ‘भर्चुअल’ अभियानलाई आक्रामक बनाउँदै छ। ट्रम्पका लागि ‘बस टुर’ को अभियान पनि सुरु भएको छ।
यसमा ट्रम्पको अभियानमा जोडिएका नेताहरू बुन काउन्टीबाट गाडीमा यत्रा गर्दै अयोवा पुग्ने कार्यक्रम तय गरिएको छ। यसमा गर्भनर किम रेयनोल्ड्स र म्याट विटेकर जस्ता हस्ती समावेश छन्। यिनीहरूले ठाउँ–ठाउँमा उत्रिएर अमेरिकी जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सन् २०१६ को ट्रम्पले चुनाव जित्दा उनको नारा थियो, ‘अमेरिका फर्स्ट’। यसपालि उनले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा दिएका छन्। यो नारा ट्रम्पको लागि कतिको फलदायी हुन्छ। यसको निर्णय अघिल्लो महिना हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया