ठूलो परिमाणमा म्याद गुज्रेको खाद्य सामाग्री बरामद

फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले साेमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको एएसपी प्रा.लि.को ३ वटा गोदाममा छापामारी ठूलो परिमाणमा रहेको म्याद गुज्रेको खाद्य सामग्री बरामद गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले छापा मार्दा केक र बेकरीमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल गरी नयाँ उत्पादन तथा उपभोग्य मिति राखेर बजार पठाइने गरेको भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका क्षेत्रिय प्रमुख जित बहादुर भण्डारीले बताए।

चाडपर्व भित्रिने क्रमसँगै गुणस्तरहिन खाद्य प्रदार्थको विक्री वितरण, कालाबजारी, म्याद गुज्रेका अखाद्य सामानहरुको विक्री वितरण, गरी आम उपभोक्ता ठगि गरेको सूचनाको आधारमा हिजो पर्सा प्रहरीले पवन अग्रवालको नाममा रहेको ए एस पि प्रा.लि.मा छापा मार्दा लाखौंको सामान भेटेपछि गोदाम सिल गरी आज स्थानिय प्रशासन, वाणिज्य कार्यालयको रोहवरमा गोदाम खोलिएको र गोदाममा म्याद गुज्रेका ठूला परिमाणमा रहेको अखाद्य पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए।

३ वटा गोदाममा डाल्डा घ्यु, नरिवलको धुलो, केक र बेकरी, विष्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंग लगायत ठूलो परिणाममा खाद्य पदार्थमा प्रयोग गरिने केमिकल लगायतका  सामान म्याद सकिएपछि पुनः नयाँ लेबल एवं नयाँ उत्पादन तथा उपभोग्य मिति राखेर बजार पठाइने गरेको भेटिएको छ।

यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराईने प्रहरी उपरिक्षक पन्तले बताए।

बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भई रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका क्षेत्रिय प्रमुख जित बहादुर भण्डारीले बताए।

आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कडा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-05 18:47:07

प्रतिकृया दिनुहोस्