‘दुईवटा उद्योगले एउटा बैङ्क डुबाउन सक्छ, अन्ततः मुलुकको अर्थतन्त्र नै ढल्न सक्छ’

अब लकडाउन होइन लकडाउनको विकल्प खोज्ने हो : नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालसँगको वार्ता

रातोपाटी

काठमाडौं

काठमाडौँ । यतिखेर मुलुक कोभिड–१९ सङ्क्रमणको जर्जर अवस्थामा छ । १२० दिन लामो लकडाउन र लकडाउन पछिको निषेधाज्ञाले समेत कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउन सकेन । हाल दैनिक २ हजारभन्दा बढी सङ्क्रमणका केसहरू आइरहेका छन् भने अहिले सङ्क्रमणको मुख्य केन्द्र काठमाडौँ बनिरहेको छ । यस्तो अवस्थामा हालै मात्र खोलिएको लकडाउन फेरि सुरु हुने हल्ला चल्न थालेको छ ।

तर यसअघिकै करिब ६ महिना लामो बन्दाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस गर्नुबाहेक कोभिड–१९ नियन्त्रणमा आउन नसकेको भन्दै निजी क्षेत्रका साथै सर्वसाधारण समेत अब कुनै पनि हालतमा लकडाउन दोहो¥याउन नहुने पक्षमा छन् । त्यसो त दसैँतिहार जस्ता मुख्य चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा पुनः लकडाउन घोषणा गर्नु सरकारकै पनि प्रतिउत्पादक हुन सक्छ ।

यस्तो अवस्थामा समग्र पक्षलाई निजी व्यावसायिक क्षेत्र अटोमोबाइलले कसरी हेरिरहेको छ ? कोभिड–१९ का बीच अटोमोबाइल व्यवसाय कसरी अघि बढिरहेको सो बारे बुझ्न खोजेका छौँ । विशेष गरी दसैँ–तिहारको अवसरमा अटो बजार कसरी अघि बढिरहेको छ त ? यसै विषयमा केन्द्रित हुँदै अटोमोबाइल क्षेत्रका छाता सङ्गठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको सङ्क्षिप्त वार्ताः

दसैँ–तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै छन् । व्यावसायिक हिसाबले अटोमोबाइल क्षेत्रका लागि यो निकै उर्वर समय हो ।  त्यो उत्साह कत्तिको छ ?

निश्चय नै अटोमोबाइल व्यवसायका लागि दसैँ–तिहारअघिको समय निकै उर्वर हो । उपभोक्ताले गाडी किन्ने र व्यवसायीहरूले बेच्ने समय यही हो । यतिबेला अटोमोबाइलको राम्रो व्यापार हुने गर्छ । तर यस पटक त्यो व्यावसायिक उत्साह त्यति देखिँदैन । कोभिडका कारण सिथिल अर्थ बजारमा चाहेजसरी गाडी किनबेच हुने अवस्था छैन ।

थप कोभिड–१९ कै प्रभाव यस पटक नाडा अटो सो जस्तो बृहत् अटो सोसमेत हुन सकेन । यसले अटोमोबाइल क्षेत्रको ठूलो व्यावसायिक प्लेटफर्म गुम्न पुगेको छ । जसको व्यवसायिक प्रभाव यस पटकको दसैँ–तिहारमा अटोमोबाइल व्यवसायमा ठूलो परिमाणमा घट्ने देखिन्छ ।

यद्यपि लामो समयदेखि रोकिएको अटो बजारले दसैँ–तिहारको अवसरमा केही व्यावसायिक उचाइ लिनेमा भने हामी आशावादी छौँ । कत्तिको सफल भइन्छ त्यो भने अब बजारले नै निर्धारण गर्नेछ ।

प्रकाशित मिति: : 2020-10-05 14:12:31

प्रतिकृया दिनुहोस्