२० असोजदेखि अग्रिम टिकट बुकिङ खु्ला गर्ने सरकारको प्रस्ताव, व्यवसायी पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडानमा

यातायात व्यवस्था विभागले आगामी २० असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव गरेको छ। 

विभागले दसैँ–तिहारमा घर जान चाहनेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने गरी यातयात व्यवसायीसँग यस्तो प्रस्ताव गरेको हो। 

कोरोना भाइरस संक्रमण कारण विगतका वर्षहरूमा जस्तो यात्रुको चाप नहुने, उपत्यकाबाट बाहिनेको संख्या कमी हुन सक्ने भएकाले छिटो जाने यात्रुहरूका लागि चाँडै नै बुकिङ खुला गरी यात्रुलाई सहज बनाउनुपर्ने यातायात व्यवस्था विभागको प्रस्ताव रहेको छ।

विगतका वर्षहरूमा दसैँको समयमा झन्डै २५ लाखबराबरले काठमाडौं उपत्यका छाड्ने भए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण बढीमा पाँचदेखि सात लाख मात्र उपत्यका बाहिर जाने अनुमान गरिएको छ।

कोरोना संक्रमणपछि कतिपय मानिस उपत्यकाबाहिर गएको र उतै बसेकाले पनि यसपटकको दसैँमा धेरै चहलपहल नहुने अनुमान गरिएको छ।

यातायात व्यवसायीको अडान 
यातायात  व्यवस्था विभागले २० असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव गरेको भए पनि  व्यवसायीले भने असहमति जनाएका छन्। 

व्यवसायीले  आधा सिट (५० प्रतिशत) मात्र यात्रु राखेर सवारीसाधन सञ्चालन गर्न नसकिने भन्दै  व्यवसायीले विमति राखेका हुन्। 

हवाई क्षेत्रमा आधा सिट लागू नभएको यातायात क्षेत्रलाई मात्र आधा सिटक्षमता नियम लागू भएको भन्दै व्यवसायीले असन्तुष्टि पोख्दै आएका छन्। 

व्यवसायीले आफूहरूले सिटक्षमताअनुसारको सबै यात्रु राख्न पाउनुपर्ने भन्दै नेपाल  यातयात राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यसहितको हस्ताक्षरमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पत्रसमेत बुझाएका थिए।

मन्त्रालयले यस विषयमा मन्त्रिपरिषद्, सिसिएमसी, स्वास्थ्य विज्ञहरूसँग छलफल गरेर  निर्णय लिने जवाफ व्यवसायीलाई दिएको थियो। 

व्यवसायीहरूले सिटक्षमताअनुसारकै यात्रु लाने र त्यसो भए मात्र सरकारले  तोकेको भाडामै यात्रुलाई गन्तव्यसम्म पुऱ्याउन सकिने महासंघका अध्यक्ष  योगेन्द्रनाथ कर्माचार्यले बताए। 

कर्माचार्यले सरकारले २० असोजदेखि अग्रिम टिकट बुकिङ गर्ने प्रस्ताव ल्याएको भए पनि सहमति भने बनिनसकेको जनाए।

‘हामीले सरकारलाई अहिले तोकेको ५० प्रतिशत भाडादर हटाएर सिटक्षमताभरिको यात्रु राख्ने प्रावधान राख्न भनेका छौंँ, त्यसो भए मात्र अग्रिम बुकिङका लागि हामी अघि बढ्छौँ भनेका छौँ,’ कर्मचार्यले भने।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले यस वर्षको  अग्रिम टिकट अनलाइन प्रणालीबाटै गर्ने तयारी रहेको बताए। कोरोना भाइरसको संक्रमणका कारण भिडभाड हुने भएकाले अनलाइनबाटै अग्रिम बुकिङ खुला गर्ने तयारी रहेको उनले बताए। 

सवारीसाधनको भिड हुने नयाँ बसपार्क, कलंकी, कोटेश्वरलगायतको स्थानमा त्यसैअनुरूपको तयारी भएको र सामाजिक दूरी कायम राखेर टिकट काट्नुपर्ने नियम राखिने उनले जानकारी दिए। 

अनलाइन बुकिङमा चुनौती

सरकारले  अनलाइनबाट टिकट बुकिङ गर्ने भनिए पनि निकै चुनौती रहेको छ।  दसैँको समय नजिकिँदै गर्दा सर्वसाधारण टिकट नपाउने र बिचौलियाको फन्दामा पर्ने भएकाले अनलाई प्रणालीलाई थप व्यवस्थित गर्नुपर्ने हुन्छ।

गत वर्ष कोरोना महामारी नहुँदा अर्थात् सामान्य अवस्थामा पनि अनलाइन टिकट बुकिङ भनिए पनि टिकट नै नपाउने समस्या उत्पन्न भएको थियो।

अनलाइनबाट टिकट काट्ने  प्रावधान मात्र राख्दा इन्टरनेटको पहुँच नहुनेहरूले  टिकट काट्न सम्भव नभएकाले काउन्टरमा टिकट काट्ने र सामाजिक दूरीलाई कायम राख्दा अझ सहज हुने  ट्राफिक इन्जिनियर आशिष गजुरेल बताउँछन्।

उनी भन्छन्, ‘दूरी कायम राख्नका लागि वैकल्पिक टिकट काउन्टरहरूको  पनि व्यवस्था गरी यात्रुलाई सहज हुने गरी कोरोना भाइरसको संक्रमण कम गर्नेतर्फ बढी केन्द्रित हुनुपर्छ।’ 

प्रकाशित मिति: : 2020-10-01 14:14:43

प्रतिकृया दिनुहोस्