भारतको चर्चित बाबरी मस्जिद मुद्धामा सबैले सफाई पाए

भारतीय राजनीतिमा सर्वाधिक चर्चा हुने गरेको राम जन्मभूमि–बाबरी मस्जिदको मुद्धामा आरोपी ३२ जनाले सफाई पाएका छन्।

सन् १९९२ मा भएको यो घटनामा पूर्व गृहमन्त्री लालकृष्ण आडवाणीसहित ३२ जनामाथि बाबरी मस्जिदको ढाचा बिगारेको आरोप थियो। 

२८ वर्षपछि भएको फैसलामा आडवाणीसहित पूर्व केन्द्रीय मन्त्री मुरली मनोहर जोशी, उमा भारती, पूर्व मुख्यमन्त्री कल्याण सिंहले सफाई पाएका हुन्। 

यो मुद्धामा कूल ४८ जनालाई आरोपी बनाइएको थियो। यसमध्ये १६ जनाको निधन भइसकेको छ। सफाई पाउनेहरूमा विनय कटियार, साध्वी ऋतम्भरा, महन्त नृत्य गोपाल दास, डा. रामविलास वेदान्ती, चम्पत राय, महन्त धर्मदास, सतीस प्रधान, पवन कुमार पाण्डेय, लल्लु सिंह, प्रकाश शर्मा, विजय बहादुर सिंह, सन्तोष दुबे, गान्धी यादव, रामजी गुप्ता, ब्रज भूषण शरण सिंह, कमलेश त्रिपाठी, रामचन्द्र खत्री, जय भगवान गोयल, ओम प्रकाश पाण्डेय, अमरनाथ गोयल, जयभान सिंह पवैया, साक्षी महाराज, विजय कुमार राय, नवीन भाई शुक्ला, आरएन श्रीवास्तव, आचार्य धर्मेन्द्र देव, सुधीर कुमार कक्कड र धर्मेन्द्र सिंह गुर्जर छन्। 

बाबरी मस्जिदको ढाँचा बिगारेको २६५ दिनपछि यो मुद्धा सीबीआईलाई जिम्मा लगाइएको थियो। सीबीआईको टिमले तीन वर्ष छानवीन गरेर विशेष अदालतमा मुद्धाको सुनुवाई सुरु भएको थियो। 

२८ वर्षपछि निर्णय भएको यो मुद्धाको सीबीआई अदालतका न्यायाधीस एसके यादवले २३ सय पन्नाको रिपोर्ट प्रस्तुत गरेका छन्। उनको यो अन्तिम निर्णय थियो। बुधबार नै उनले अवकास लिँदै थिए। निर्णयमा भनिएको छ, सीबीआईले एउटा पनि आरोप प्रमाणित गर्न सकेन। 

आडवाणीले मुद्धाको निर्णय घरको टेलिभिजनमा बसेर हेरेका थिए। उनले निर्णयको स्वागत गरेका छन्। मुरली मनोहर जोशीले अदालतको निर्णयलाई ऐतिहासिक भनेका छन्। 

बाबरी मस्जिदको ढाँचा ६ डिसेम्बर १९९२ मा भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले मिलेर खसाएका थिए। उनीहरूको माग थियो, मस्जिदको ढाँचा भत्काएर राम मन्दिर निर्माण गर्ने। 

सर्वोच्च अदालतले यसै वर्ष अयोध्यामा राम जन्मभूमिको लागि मन्दिर निर्माण गर्न स्विकृति प्रदान गरिसकेको छ।
 

प्रकाशित मिति: : 2020-09-30 17:56:48

प्रतिकृया दिनुहोस्