भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

रासस

रामेछाप 

नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ। नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो।
 
नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६०  भँैसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ। नगरपालिकाले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गर्दै सूचना जारी गरेको छ।
 
मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी सङ्ख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताए। 

उनका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भँैसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भँैसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ।

नगरपालिकाका उपप्रमुख मायाकुमारी कार्कीले कृषकलाई प्रोत्साहनस्वरुप भैँसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताए। मापदण्ड पूरा गरेर आउने कृषकलाई रु तीन हजार भैँसी सुत्केरी भत्ता उपलब्ध गराइन्छ। गत वर्षदेखि सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको नगरपालिकाले प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-30 14:26:38

प्रतिकृया दिनुहोस्