लकडाउन अघिसम्म पोखरामा दैनिक २ सय ५० सम्म खसी काटिन्थ्यो। अहिले एउटा व्यापारीले खसी काट्यो भने त्यो तीन दिनमा बल्लबल्ल बिक्छ। खसीमात्रै होइन, कुखुरा पनि त्यस्तै छ।
‘अहिले मासुको व्यापार गत वर्षको तुलनामा ३५ प्रतिशत पनि छैन,’ मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारी भन्छन्, ‘अहिले एउटा खसी काट्दा तीन दिन पुग्छ। खाने मान्छे नै छैनन्।’
लकडाउनमा गाउँ गएकाहरू उतै रहेको र चाडपर्व मान्न अधिकांश पोखरेली गाउँ फर्किने भएकाले मासुको खपत कम हुने तिवारीले सुनाए।
‘विद्यालय खुलेका छैनन्। कतिका केटाकेटी गाउँमा छन्। जागिर भएकाहरूका केटाकेटी उतै भएकाले फर्किन्छन्। त्यसले गर्दा पनि यो दसैंमा मासुको व्यापार कम हुन्छ,’ तिवारी भन्छन्, ‘गाउँमा पनि बाख्रा पाल्ने किसान बढेकाले मासुकै लागि बजार झर्ने अवस्था रहँदैन।’
लकडाउन अघिसम्म पोखरामा दैनिक ७० हजार किलो कुखुराको मासु खपत हुन्थ्यो। अहिले कुखुराको मासुको माग ५० प्रतिशत कम भएको छ।
सामान्य बेला पोखराको खसीबजारमा महिनामा १० हजार खसीबोका भित्रिने गरेको तथ्यांक छ। दसैं र तिहारको एक महिनामा ३० हजार खसीबोका खपत हुँदै आएको थियो। चाडपर्वमा हिमाली भेगबाट झारिने भेडाच्यांग्रा पनि यो वर्ष कम झर्ने भएको छ।
पोखरामा तिब्बतबाट भेडाच्यांग्रा ल्याइने गरेकोमा यो वर्ष उताबाट आयात नहुने भएको छ। कोरोना भाइरस डरले सीमामा गरिएको कडाइले गर्दा यस वर्ष पोखरेलीले तिब्बती भेडाच्यांग्राको स्वाद नपाउने भएका हुन्। तिब्बतबाट यस वर्ष भेडा च्यांग्रा नआउने भएपछि मुस्ताङ, डोल्पा, मुगु, दार्चुलालगायत ठाउँका भेडाच्यांग्राले बजार पाउने खसीबोका व्यवसायी समिति पोखराका निर्वतमान अध्यक्ष गोकर्ण भण्डारीले बताए।