अवैधरुपमा काठमाडौँमा चल्ला ल्याइ रङ बदलेर बेच्न खोज्ने ४ जना पक्राउ

काठमाडौंको कलंकीबाट प्रहरीले २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्ला बरामद गरेको छ। चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनको अविनाश मोर्डन ह्याचरीबाट चल्ला ल्याएका उनीहरुले कलंकी र स्यूचाटारमा रहेको आफ्नो पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरेका थिए । 

लेयर्स कुखुराको चल्लालाई रङ बदलेर ‘लोकल चल्ला’ भन्दै बेच्न खोज्ने ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ पर्नेमा ४५ बर्षीया चन्दा शाह, ४२ बर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् । 

बारा कचोर्वा घर भएकी प्रेमशिला देवीको काठमाडौं–१४ स्थित जैसवाल पोल्ट्री सप्लायर्समा चितवनबाट ल्याएको  १० हजार मध्ये १५ सय चल्लाको रंग परिवर्तन गरेको भेटिएको छ ।

प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको एसपी राठौरले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका वकिल खानले ३ सय, सुमित्रा जैसवालले १ सय ५० र चन्दादेवी शाहले ७ हजार वटा चल्लाको रङ परिवर्तन गरेको भेटिएको छ । 

चल्लाको रङ परिवर्तन गरेर महंगोमा बेच्नेलाई कालाबाजारी ऐन अनुसार मुद्धा चलाउनको प्रहरीको तयारी छ  ।

प्रकाशित मिति: : 2020-09-29 13:53:26

प्रतिकृया दिनुहोस्