ललितपुरमा मजदुरी गर्दै आएका राजन सुनुवारले रातो मच्छिन्द्रनाथको भोटोजात्रा हेर्न थालेको दुई दशकभन्दा बढी भयो । कोरोना संक्रमण नभएको भए सम्भवतः यसै समयको कुनै दिन जावलाखेलमा सुनौलो भोटो देखाइन्थ्यो । उनी पनि परेबाट त्यो भोटो हेर्थे । तर यस्तो संयोग यसपटक जुरेन । कोरोनाले गर्दा जात्रा मात्र प्रभावित भएन, उनको काम पनि खोसियो । बिहीबारको झरीमा पनि कामको खोजीमा भेटिएका सुनुवारले भने, ‘गरिब जनताको फाटेको भोटोचाहिँ कसले हेर्ने होला । कोरोनाले गर्दा दसैंको मुखमा पनि काम नपाउँदा परिवारमा निराशा छाएको छ ।’
१८ वर्षकै उमेरमा राजधानी रहेको काठमाडौं उपत्यका छिरेका ३८ वर्षीय सुनुवारले कोरोनाका कारण लामो समय बेरोजगार हुँदा पनि राज्यले बेवास्ता गरेको गुनासो पोखे । झरीको मौसममा काम र खाना दुवै खोज्दै गरेका उनी लुगलुग काम्दै थिए । दुई सन्तानका पिता उनी पत्नीसहित झरीमा पनि कामको खोजीमा निस्केका थिए । ‘भोटो मात्र हैन, काम नपाउँदा गरिखानेको मन पनि फाँटेको छ,’ उनले भने, ‘कोरोनाका कारण आम्दानी गुम्दा केटाकेटीका लागि दसंैका लुगा किन्ने हैसियतसमेत छैन ।’