भारतीय सिनेमामा ड्रग्स कोरोबारको छानवीन सुरु भएपछि ठूलो पर्दाका स्टार कलाकारको नाम बाहिरिने क्रम जारी छ। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को छापापछि अब ठूलो पर्दाको मात्र नभएर सानो पर्दा अर्थात टेलिभिजन कलाकारको नाम पनि बाहिरिन थालेको छ।
बुधबार मात्र एनसीबीले सोधपुछका लागि टिभीका चर्चित कलाकार अबिगेल पाण्डे र उनको प्रेमी सनम जौहरलाई बोलाएको थियो।
उनीहरूले सोधपुछका क्रममा टेलिभिजनमा अन्य २० कलाकारको नाम ड्रग्स कारोबारमा संलग्न भएको खुलासा गरेका छन्।
यद्यपि एनसीबीले यो नाम सार्वजनिक गरेको छैन। तर, छिट्टै एकपछि अर्को गर्दै उनीहरूलाई सोधपुछका लागि बोलाउने सम्भावना बढेको छ।
भारतीय मिडियाका अनुसार केही समयअघि पक्राउ परेका ड्रग्स कारोबारी करमजीतले टेलिभिजनका धेरै कलाकारको नाम ओकलेका थिए।
करमजीत र बुधबार एनसीबीको सोधपुछमा संलग्न कलाकारले दिएको नामको गोप्य रूपमा छानवीन भइरहेको भारतीय मिडियाले बताएका छन्।
बुधबार सोधपुछका लागि एनसीबीको मुम्बईस्थित कार्यालय पुगेका अबिगेल र सनमलाई पुनः जाँचका लागि बोलाउन सक्ने सम्भावना प्रबल छ।
टेलिभिजन कलाकारमा यसअघि अपूर्व अग्निहोत्री र उनको श्रीमती शिल्पा सकलानी ड्रग्स पार्टीको आयोजना गर्दा पक्राउ परिसकेका छन्।
यस बाहेक पनि राहुल महाजन, सिद्धार्थ शुक्ला, सिद्धार्थ सागर र सौरभ पाण्डे पनि विवादमा समावेश छन्। यी नाममध्ये धेरैले आफू ड्रग एडिक्ट भएको कुरा स्विकार गरिसकेका छन्।