चार दशक कटेका लोकबहादुर रानामगरको दैनिकी अचेल फुर्सद मै बित्ने गरेको छ। मिस्त्रीको काम गर्ने उनी गत चैत महिनायता कामविहीन छन्।
बाँकेको कोहलपुर ११ स्थित सुकुम्बासी बस्तीमा करिब दशकदेखि बस्दै आएका उनको मजदुरी नै जिविकोपार्जनको प्रमुख माध्यम थियो। तर कोरोना भाइरस महामारीका कारण नेपाल सरकारले २०६७ चैत ११ गते लकडाउन घोषणा गरेपछि उनको आम्दानीको स्रोत बन्द भयो। उनी भन्छन्, ‘सरकारले लकडाउन गरेपछि हाम्रो कमाउने माध्यम पनि लक भयो। अहिले लकडाउन खुलिसक्यो, तर हाम्रो लक अझै खुलेको छैन।’
घरमा खानलाई केही पनि छैन। बजारमा काम खोज्न गयो पाईदैन। कोरोना कहरको कारण देखाउँदै कामलाई काम समेत नदिने गरेको उनले बताए। उनी घरको एक्लो कमाउने माध्यम हुन्। उनले एकदिन काम गर्न पाएनन् भने साँझ उनको चुल्हो बल्दैन।
लकडाउनको सात महिनामा कतिदिन भोकै रात कटाइयो उनलाई पनि एकिन छैन। छिमेकीसँग मागेर ल्याएको कसैले राहत दिएको बाहेक अरू दिन आफ्नो परिवारले पुरा पेट खान नपाएको उनको भनाई छ।
रानामगरका अनुसार भूमिहीन सुकुम्बासीहरूलाई सरकारले समेत कहिल्यै नागरिकको जस्तो व्यवहार गरेको छैन। स्थानीय सरकारले पनि एक दिन पनि आफूहरुको दैलोमा टेकेर हाल खबर नसोधेको उनी बताउँछन्। लकडाउनको समयमा भोकले मर्न थालेको भन्दै कोहलपुर–११ मा बसोबास गर्दै आएका सुकुम्बासीले वडा कार्यालयमा आएर आन्दोलन नै गरेका थिए।
आन्दोलन पनि उनीहरुलाई पनि सरकारले राहत दियो। ‘त्यो राहत केही दिन चलयो। त्यसपछि त फेरि भोकै बस्नुपर्ने अवस्था आयो। अहिले पनि अवस्था यस्तै छ। के गर्ने हामी दुःखीलाई सधै दुःखै दुःख मात्रै छ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने।
हस्तबहादुर गन्धर्व भूमिहीन, सुकुम्बासी हुन्। तीन वर्षयता उनको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएको छ। उनको पनि जिविकापार्जनको प्रमुख स्रोत ज्याला मजदुरी हो। उनी दैनिक मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका छन्।
‘चार महिना त घर मै बसियो। काम नगरेसम्म खाना लाउन समस्या थियो। यो बेलामा झन निकै समस्या भयो। अहिले पनि बजारमा जाँदा काम पाइदैन,’ उनले भने, ‘कोरोनाले हामी जस्ता गरिबलाई रोगले भन्दा भोकले मर्ने बनायो। अझै केही समय यस्तै अवस्था रहने हो भने यसै भन्न सकिने अवस्था छैन।’ उनले न राम्रो बस्ने बाँस, न खाने गाँस कोरोनाले भूमिहीन र सुकुम्बासीलाई निकै ठूलो समस्यामा पारेको बताए । उनका अनुसार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरेर दैनिकी गुजारा गर्नेहरू कोरोनाको सबै भन्दा बढि मारमा परेका छन्। ‘यो बेला सरकारको त परको कुरा छिमेकीबाट समेत सहयोग माग्ने अवस्था छैन। मागेर खाँउ कोही दिदैन काम खोज्यो पाइँदैन।’
हस्त मात्रै होइन उक्त बस्तीका दर्जन बढी सुकुम्बासी गन्धर्व समुदायका नागरिकको अवस्था निकै दयनीय अवस्थामा गुज्रिरहेको छ। बाँकेका कोहलपुरसहित अन्य पालिकामा समेत सयौ सुकुम्बासीहरु बसोबास गर्छन्। कोहलपुरमा सुकुम्बासीको संख्याहरुको अन्य पालिका भन्दा धेरै छ। गन्धर्व, बादी र चिडिमार समुदाय बस्छन्। उनीहरूको भूमिहीन र सुकुम्बासीको रूपमा बस्दै आएका छन्। सरकारले लकडाउन खुकुलो गरे पनि मजदुरले भने काम पाएका छैनन्।