किरणदेवि कर्ण नेपाल राष्ट्रिय विद्यापिठ स्कुल, श्रीपुरका शिक्षिका। उनको छातिमा पानी जमेका थियो। यहीँ समस्या लिएर उनी भदौं १२ गते नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा पुगेकी थिइन्।
सामान्य चेकअपपछि छातिमा पानी जमेको र स्वास प्रश्वासमा केही समस्या देखिएर उनलाई चिकित्सकले भर्ना हुन आग्रह गरे। आफूलाई ठूलो समस्या देखिएपछि उनी भर्ना हुन् बाध्य भइन्।
भर्ना हुनुपूर्व उनमा कोरोना भाइरसको संक्रमण भए नभएको पीसीआर परीक्षण गर्न अस्पतालले सुझायो। हुन त उनमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नै थिएन। त्यहीँ पनि अस्पतालको भनाइलाई मध्यनजर गरेर अझ ढुक्क हुन उनले एकपल्ट पीसीआर परीक्षण गर्ने निधो गरिन्।
भदौं १२ गते स्वाब दिइन्। उनी ढुक्क थिइन् आफ्नो रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा। सामान्यतया रिपोर्ट आउन २४ देखि ३० घण्टा लाग्छ। तर, त्यो बिचमा कुनै रिपोर्ट नआएपछि उनले शान्तिको लामो सास फेर्नु स्वभाविक नै थियो।
तर, उनको विस्वास १० दिनपछि टुट्यो। भदौं २२ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै रिपोर्ट पोजिटिभ देखाइयो। उनी छाँगाबाट खसेकी जस्तो भइन्।
‘ममा कोरोना संक्रमणको लक्षण थिएन र परीक्षण गर्ने मनशाय पनि थिएन। तर, अस्पतालको संवेदनशीलतालाई हेरेर परीक्षण गराएको थिएँ। जसमा रिपोर्ट पोजिटिभ देखिएको छ’, उनले भनिन्।
कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमै राखियो। यो अस्पताल कोरोना संक्रमितको उपचारको लागि बनाइएको विषेश कोभिड अस्पताल हो।
तर, उपचारका लागि भर्ना भएकी उनको १२ देखि २२ गतेको बीचमा अर्थात १० दिनको अवधिमा छातिमा जमेको पानीसमेत निकाल्न पाइनन्। उनको स्वास्थ्यअवस्था झनै नाजुक भयो र सास लिन नसक्ने स्थितिमा पुगिन्। सास फेर्न सहज होस् भनेर उनलाई अक्सिजन लगाइएको थियो। तरपनि दुखाइ र पीडाले रातभर छट्पटाइ रहन्थिन्।
हुन् त यो ठूलो समस्या होइन्। छातिमा जमेको पानी जो कोहीले निकाल्न सक्थ्यो। सामान्य चिकित्सकको एसिस्टेन्टले समेत यो काम गर्न सक्ने जानकार डाक्टरहरू बताउँछन्।
‘छातिको पानी निकालेर, एक्सरे गर्दा र हेमोग्लोविन कम भएकाले त्यस्ता केही उपचारहरू गरेको भए भिडियोमा बोलेको भरमै यो काम गर्न सकिन्थ्यो,’ एक चिकित्सकले भने।
यता मृत्यु अगाडि २१ गते साँझ गरिएको दोस्रो पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आइसकेको थियो। तर, रिपोर्ट नेगेटिभ आउँदासमेत उनको उपचार शुरू गरिएन। रोगलाई जित्ने बलियो आत्मविश्वास हुँदा हुँदै डाक्टर र अस्पतालको लापरवाहीले उनको मृत्यु भयो।
यता चतुर चिकित्सकलाई धर्मसंकट पर्यो, अब के बोल्ने? उपचार नगरेर मृत्यु भएको हो भन्ने जवाफ दिएमा अस्पताल र चिकित्सकमाथि ढुङ्गामुडा होला भन्ने डर, अर्कोतिर सामान्य तरिकाले उनको मृत्यु भयो भनेमा आफन्तले प्रश्न गर्लान भन्ने डर। अन्तिममा बिकल्प निकाले ‘कोरोना भाइरस संक्रमणबाटै कर्णको मृत्यु भयो।’
उनीहरूले पूर्व योजना अनुसार नै त्यहीँ हस्पिटलमा भर्ना भएका उनका श्रीमान्, छोरा र बुहारीमाझ हस्याफस्याँङ गरेर मृत्युको खबर दिन गए। चिकित्सकले परिवारलाई कर्णको मृत्यु कोरोना संक्रमणको कारण भएको बताए।
परिवारका सदस्यहरू अकमक्किए। प्रतिप्रश्नसमेत गर्न सकेनन्। उनीहरूलाई थाहा थियो– यो केश अस्पतातको लापरवाहीले गर्दा भएको हो।
हुन् त वीरगञ्जमा यस्तो लापरवाहीले मृत्यु भएको यो पहिलो घटना होइन। यस अगाडि अस्पतालले भर्ना नलिँदा १० जना भन्दा बढीको मृत्यु भएको छ भने उपचार नै नगर्दा ४ जनाभन्दा बढीको मृत्यु भएको छ।
तर, अहिलेसम्म यस्तो लापरवाही गर्ने कुनै अस्पाताललाई कारबाही नभए छ नत कुनै चिकित्सकलाई नै। यता अस्पातलले कसलाई कति क्षतिपूर्ति नै दिएको छ भनेर नै खुलाएको छ।
यहीँ कारण हुन सक्छ उनीहरू पनि आफन्त गुमाउँदा अस्पताल प्रशासनसँग केही बोल्न सकेनन्। आखिर बोलेर पनि के नै हुन्थ्यो त?
बिरामीको परिवारको यहीँ कमजोरिका कारण अहिले अस्पताल प्रशासन यो मृत्युको घटनामा ढुक्क भएको छ।
नेपाल सरकारको थ्रिस्टार होटलको सेवा सुविधा लिएर झण्डै ३ लाख तलब खाने यी मान्छे मार्ने देउताहरूको आखिर कसरी ढुक्कले निदाउन सकेका होलान् है।
हुन त उनीहरूले कोरोना नेगेटिभ आएकासँग फोटोसुट गर्ने बाहेक केही काम गरेका छैनन्। तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएर आफ्नै गल्तीले मृत्युवरण गरेकी महिलाको परिवारलाई सान्तवना समेत दिन जान सकेनन्।
अहिले कर्णको दाहसंस्कार पनि भइसकेको छ। उनीहरुको परिवारका केही सदस्यहरू अझै अस्पतालमा भर्ना भएर बसेका छन्। आफ्नो परिवारका सदस्य गुमाएको पीडा र कोरोना रोगसँग उनीहरु कहिले जित्छन त्यो त हेर्न बाँकी छ।