रोजगारी र महामारीसँग संघर्षमा प्रवासका नेपाली : २४३ ले ज्यान गुमाए, ३७ हजार ६४७ संक्रमित

मुना कुँवर

काठमाडौं

संक्रमित : कतारमा मात्रै २४३०४, साउदीमा ४१००, युएईमा २४००, कुवेतमा १७३५, अमेरिकामा १७२७, बेलायतमा १५१७ र भारतमा ६०० 

मृत्यु : बेलायत ६९, साउदी ५२, युएई ३७, भारत ३२, कतार १८, अमेरिका १७, कुवेत ७, बहराइन ३

......................

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट विदेशमा रहेका दुई सय ४३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत एक सातामा मात्रै विभिन्न मुलुकमा ४३ जना नेपालीको निधन भएको छ । एनआरएनएका अनुसार १६ देशमा नेपाली नागरिकको कोरोनाका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका हुन् ।

विदेशमा रहेका नेपालीमध्ये सबैभन्दा बढी ६९ जनाको बेलायतमा निधन भएको छ । साउदी अरेबियामा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको एनआरएनएले जानकारी दिएको छ । त्यस्तै, युएईमा ३७ र भारतमा ३२ नेपालीको कोरोनाका कारण ज्यान गएको छ । 

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, भारत, कतार र साउदी अरेबियालगायतका देशमा कोरोना संक्रमणदर वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका ३७ हजार ६ सय ४७ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

६२ हजार चार सय ९४ नेपालीको उद्धार 

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र परेका ६२ हजार चार सय ९४ नेपाली स्वदेश फर्किएका छन् । ३० देशबाट चार सय एक उडानमार्फत आइतबारसम्म ६२ हजार चार सय ४९ जना नेपालीलाई स्वदेश ल्याइएको हो । यस्तै विदेशमा विभिन्न कारणले निधन भएका तीन सय ३९ जना नेपालीको शव पनि नेपाल ल्याइएको छ । सरकारले चैत ११ यता लकडाउन गरेपछि विदेशमा रोकिएका नेपालीलाई जेठ ३२ देखि उद्धार उडानमार्फत ल्याउन सुरु गरिएको थियो । 

प्रकाशित मिति: : 2020-09-14 08:18:47

प्रतिकृया दिनुहोस्